बिक्री भयो भैरहवाको पवन प्यालेस, कसले किने ?

टुरिजमफेस
काठमाडौं । भैरहवाको पाँचतारे होटल पवन प्यालेस बिक्री भएको छ । लामो समयदेखि नै उक्त होटल बिक्रीका लागि सञ्चालक पवन हलुवाइले प्रयास गर्दै आएका थिए । कहिले मूल्य नमिल्दा त कहिले उपयुक्त खरिदकर्ता फेला नपर्दा हलुवाइले होटल बिक्री गर्न सकेका थिएनन् ।
१४७ कोठाको पवन होटल पाँचतारे स्तरको हो । जुन होटल निर्माणका लागि हलवाइले कुमारी बैंकसँग साढे एक अर्ब रूपैयाँ ऋण लिएका थिए । भैरहवा–लुम्बिनी सडकमा रहेको पवन प्यालेस करिब तीन बिघा क्षेत्रफलमा फैलिएको छ । होटलमा लगानी गरे पनि सञ्चालनको त्यति राम्रो अनुभव नहुँदा होटलले खासै आम्दानी गर्न सकेको थिएन ।
होटल बिक्रीमा रहेको जानकारी पाएपछि ऊर्जा, हेलिकप्टर तथा इन्स्योरेन्स व्यवसायी सुवास अमात्यले केही दिनअघि खरिद गरेका हुन् । हलुवाइले बैंकमा रहेको साढे एक अर्ब रूपैयाँ सकार्ने गरी अमात्यले सम्पूर्ण शेयर खरिद गरेको बताए ।
२०७५ देखि सञ्चालनमा आएको उक्त होटलमा करिब दुई अर्ब रूपैयाँ लगानी भएको हलुवाइले बताए । केही वर्षयता भैरहवा, बुटवललगायतका स्थानमा होटल निर्माण हुने क्रम बढेको छ ।
खासगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि होटल व्यवसाय फस्टाउने अपेक्षाले हस्पिटालिटी क्षेत्रमा लगानी बढेको व्यवसायी बताउँछन् । तर विमानस्थल राम्रोसँग सञ्चालन हुन नसक्दा होटलको लगानी जोखिममा परेको गुनासो रहँदै आएको छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको सरकारले राम्रो व्यवस्थापन गर्न नसक्दा अन्तर्राष्ट्रिय यात्रु बढ्न सकेका छैनन् ।