भोटेकोशीको बाढी नथामिँदै कालिगण्डकीमा पनि मिसियो तिब्बतबाट आएको ठूलो बाढी

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा चीनबाट आएको बाढी थामिन नपाउँदै उपल्लो मुस्ताङ हुँदै कालीगण्डकीमा मिसिने छिनजुङ खोलामा पनि तिब्बतबाट बाढी आएको छ ।
उक्त बाढी मुस्ताङ, लमजुङ, तनहुँद हुँदै चितवनमा मिसिने कालिगण्डकी नदीमा आउने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मुस्ताङले आग्रह गरेको छ ।
बाढी आएपछि खोला र नदी आसपासका गाउँमा सतर्कता अपनाउन आग्रह गरिएको र सुरक्षाकर्मी परिचालन समेत गरिसकिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णु भुसालले जानकारी दिएका छन् ।
तिब्बत हुँदै आउने छिनजुङ खोलाको बाढी छुसाङमा आएर कालीगण्डकीमा मिसिन्छ । चरनङ, घि, छससाङ गाउँ हुँदै तल आएपछि जोमसोमसमेत किनारमै पर्छ । बाढी ठूलै देखिएकोले नदी आसपासका गाउँमा उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।
मंगलवार बिहान मात्रै रसुवा भोटेकोशीमा आएको बाढीले नेपाल-चीन मितेरी पुल बगाउनुका साथै निर्माणाधिन सुख्खा बन्दरगाहसमेत बगाएको थियो । २०० मेगावाट विद्युत उत्पादन गरिरहेका आयोजनामा क्षति पुर्याएको बाढीले अन्य ४०० मेगावाटका निर्माणाधिन आयोजनामा पनि क्षति पुर्याएको छ । सुरक्षाकर्मी, स्थानीय र बन्दरगाहमा काम गर्ने कामदार सहित १८ जना बेपत्ता भएका छन् भने ७ जनाको शवसमेत फेला परेको छ ।
तिब्बतबाटै आएको बाढीले रसुवामा गरेको विश्वसं सेलाउन नपाउँदै कालिगण्डकी नदिमा पनि यस्तै विश्वस हुन सक्ने भन्दै प्रशासनले सचेत गराएको छ ।