चिनियाँ दुतावासको भिसा भेरिफिकेसन नाममा कैलाश मानसरोवर जाने पर्यटकलाई समस्या, के गर्दैछ सरकार ?

टुरिजमफेस
काठमाडौं । काठमाडौंस्थित चिनियाँ दूतावासले भिसा भेरिफिकेसनको नाममा ढिलाइ गर्दा कैलाश मानसरोवर जाने पर्यटक समस्यामा परेका छन् ।
दुतावासले भिसा भेरिफिकेसनको नाममा दुई साता भन्दा बढी समय लगाइरहेको छ । ‘यतिखेर पनि करिब तीन हजार पर्यटकले राहदानी बुझाएको १० दिन भइसक्दा राहदानी फिर्ता पाउन सकेका छैनन्,’ कैलाश मानसरोवरमा पर्यटक पठाउँदै आएका व्यवसायी रमेश ओझाले भने, ‘केही समययता चिनियाँ पक्षको व्यवहार राम्रो छैन ।’
ओझा होलिडे टुर्स एन्ड ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक समेत रहेका ओझाले भिसा भेरिफिकेसनको काम विगतमा तीन दिनमा हुने गरेको बताए । यसरी लामो समयसम्म भिसाको सुनिश्चितता नहुँदा काठमाडौंका विभिन्न पाँचतारे होटलमा झन्डै तीन हजार पर्यटक मानसरोवर यात्राको प्रतीक्षामा रहेको व्यवसायीहरूको भनाइ छ ।
ओझाले ‘सिजन’कै बेला भिसा भेरिफिकेसनसम्बन्धी नयाँ नीतिले पर्यटन व्यवसायी मर्कामा परेको बताए । भिसा भेरिफिकेसनले कैलाश मानसरोवर यात्रा विलम्ब भइरहेका बेला हालै रसुवामा आएको बाढीले सडकबाटो अवरुद्ध हुँदा पर्यटक थप समस्यामा परेका छन् ।
कतिपय पर्यटक रसुवागढी–केरुङ रूट भएर मानसरोवर पुग्ने गरेका छन् । अहिले यो मार्ग अवरुद्ध भएको छ । त्यस्तै कैलाश मानसरोवर जान हुम्लाको सिमीकोट रुट पनि प्रयोग गर्न सकिन्छ ।
भारतको मुम्बइस्थित लिआजर पोर्टका सञ्चालक नमराज जोशीले ३९ जनाको समूह लिएर १० दिनदेखि काठमाडौँमा भिसा कुरिरहनुपरेको दुःखेसो पोखे । दूषित प्रिन्सेस काठमाडौंमा बसिरहेका उनीहरू चाँडै भिसा आउने प्रतीक्षामा छन् ।
प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको यही असार २२ गतेको बैठकमा पनि सांसदहरूले मानसरोवर जाने पर्यटकको प्रवेशाज्ञा (भिसा) प्रक्रिया विलम्ब हुँदा सयौँको सङ्ख्यामा विदेशी नागरिक होटलमा कुरिरहेको भन्दै पर्यटनमन्त्रीको ध्यानाकर्षण गराएका थिए । जवाफमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मानसरोवर जाने पर्यटकहरूका लागि भिसा प्रक्रिया सहजीकरणका लागि परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ दूतावाससँग पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
कैलाश मानसरोवरका लागि विदेशीले दुई हजार ५०० देखि तीन हजार डलरमा प्याकेज खरिद गरेका हुन्छन् । उनीहरूले दुई हजार हाराहारी डलर हवाई टिकटमा आफै खर्च गर्नुपर्छ । यसरी पाँचदेखि सात हजार डलर विदेशीले मानसरोवर जान खर्च गर्नुपर्छ ।
‘विदेशीलाई ल्हासाबाट प्रवेश अनुमति आउँछ, पासपोर्ट दिएपछि तीन दिनमा भिसा आउने गरेको थियो । हाल विदेशी आइसकेपछि पनि चिनियाँ दूतावासले भिसा भेरिफिकेसन गर्ने गरेको छ । भिसा विलम्ब हुँदा पाँचदेखि १० रातको बढी रकम होटललाई टुर अपरेटर कम्पनी आफैँले तिर्नुपरेको छ । आफ्नो कमिसनभन्दा पनि उल्टै बढी पैसा खर्च भएको र अनावश्यक तनाव र झन्झट पनि बेहोर्नु परिरहेको छ,’ व्यवसायीले भन्ने गरेका छन् ।
बसाइँ लम्बिँदा पर्यटक बेखर्ची हुने र कतिपय फर्किन अवस्थामा रहेको व्यवसायीले बताए । नेपाल भएर तिब्बत, मानसरोवर, ल्हासा जाने पर्यटक समग्र पर्यटनको झन्डै २० प्रतिशत रहेको यस क्षेत्रमा कार्यरत कम्पनीले बताउने गरेका छन् । यसरी वार्षिक २० देखि २५ हजार पर्यटक मानसरोवर जाने गरेका छन् ।
जुन २५ देखि जुलाई नौ तारिखसम्म भिसा भेरिफिकेसनका नाममा पर्यटक होटलमै बसिरहनुपरेको र आर्थिक भार नेपाली व्यवसायीमाथि थुप्रिएको गुनासो छ । ‘समयमा भिसा भेरिफिकेसन नहुँदा सबैभन्दा मारमा हामी व्यवसायी परेका छौं, टुर चलाएर पाउने कमिसनभन्दा बढी खर्च गरेर पर्यटक व्यवस्थापन गर्नुपरेको छ,’ कैलाश यात्रा गराउने सोहम जर्निस प्रालिका प्रबन्ध निर्देशक सूर्य पाठकले गुनासो सुनाए ।
एक सिजनमा तीन हजार पर्यटक पठाउने गरेको स्मरण गर्दै पाठकले यस वर्ष मुस्किलले एक हजार पर्यटक पुग्ने विश्वास व्यक्त गरे । उक्त कम्पनीले सन् २०१९ मा झन्डै चार हजारलाई मानसरोवर यात्रा गराएको थियो ।
एसोसियसन अफ कैलास टुर अपरेटर्स नेपालमा आबद्ध ३० भन्दा बढी कम्पनी छन् । मेदेखि सेप्टेम्बरसम्म करिब पाँच महिना कैलाश मानसरोवर जाने सिजन हो । सो संस्थाले जनाएअनुसार वार्षिक २५ हजारसम्म पर्यटक नेपाल भएर मानसरोवर जाने गरेका छन् । त्यहाँ पुग्न नेपालगञ्ज–सिमिकोट–हिल्सा सबभन्दा नजिकको रूट पर्ने हुनाले हरेक वर्ष उल्लेख्य सङ्ख्याका पर्यटक यो मार्ग भएर गन्तव्यमा पुग्छन् ।