सात बाघलाई नै महिनामा साढे दुई लाखको मासु चाहिने भएपछि बाघ पाल्ने समस्यामा चितवन राष्ट्रिय निकुञ्ज

टुरिजमफेस
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रबाट नियन्त्रणमा लिइएका बाघ पाल्न मुस्किल भएको छ । बजेट अभावमा बाघ पाल्न कठिन भएको हो ।
चितवन राष्ट्रिय निकुञ्जको खोरमा ७ बाघ रहेका छन् । निकुञ्जको मुख्य कार्यालय कसरामा ३, सौराहामा २ र देवनगरमा २ बाघ छन् । मानव बस्तीमा पसेर हिंस्रक गतिविधि गरे वा बिरामी भएमा बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिन्छ । दैनिक मासु खुवाउनु पर्छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार वार्षिक रूपमा ती बाघ पाल्न कम्तीमा ३० लाख बजेट चाहिन्छ । एउटा बाघलाई दैनिक ५ किलोदेखि ७ किलो राँगाको मासु खुवाउनुपर्ने हुन्छ । सरकारले नियन्त्रणमा लिइएका बाघ पाल्न वार्षिक ५ लाख हाराहारी मात्रै बजेट छुट्याउने गरेको उनले बताए ।
सूचना अधिकारी थापामगरले भने, ‘गत आर्थिक वर्षमा बाघका लागि २२ लाख हाराहारी मासुको भुक्तानी गर्न बाँकी छ । एक महिनामा ७ बाघलाई दैनिक ५ किलोका दरले राँगाको मासु खुवाउँदा मासिक साढे २ लाख हाराहारी खर्च हुन्छ । बाघलाई दैनिक मासु खुवाइरहेको भए पनि रकम भुक्तानी गर्न नसकिएको उनले जानकारी दिए ।
‘खोरमा थप बाघ राख्ने ठाउँ छैन’, थापामगरले भने। राख्ने ठाउँ नभएपछि गत वर्ष एउटा बाघ पर्सा पठाइएको थियो । बर्सेनि बाघको आहाराका लागि बजेट घट्दै जाने र नियन्त्रणमा लिनुपर्ने बाघ थपिँदै जाने हुँदा समस्या भएको उनले बताए ।
पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क बाघ १२८ रहेका छन् । आहारा प्रजातिको सङ्ख्या बढ्दै जाँदा बाघको सङ्ख्या पनि बढ्दै गएको छ। यो निकुञ्ज बाघका लागि राम्रो बासस्थान हो । यहाँ आउने पर्यटकलाई सहजै देखाउन देवनगरको खोरमा बाघ राखिएका छन् । त्यहाँ सहज रूपमा बाघ हेर्न पाइन्छ ।