गण्डकीमा स्थानीय मदिराले पायो कानुनी मान्यता, पर्यटनमा कस्तो प्रभाव पर्ला ?

टुरिजमफेस
पोखरा । पर्यटन व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएको माग अनुसार गण्डकी प्रदेशले स्थानीय स्तरमा उत्पादित मदिरालाई कानुनी मान्यता दिएको छ । प्रदेश सभाले जाँड, रक्सीलगायत घरेलु मदिरालाई कानुनी मान्यता दिने कानुन पारित गरेसँगै अब प्रहरीले जफत गरेर नष्ट गर्ने पाउने छैन ।
नयाँ नियम बनेसँगै स्थानीयले खुलेम खुल्ला रूपमा पर्यटकलाई मदिरा बेच्न पाउने छन् । पोखरा घुम्न आउने पर्यटकले अनाज बाली तथा फलफूलबाट उत्पादित स्थानीय मदिरा सेवन गर्न मन पराउने गरेका छन् ।
तर स्थानीय मदिरा सेवनमा प्रहरी, प्रशासनले अनेक झमेला दिने भएपछि पर्यटकलाई अप्ठेरो हुने गरेको थियो । जसका कारण आयातित मदिरा सेवन गर्नुपर्ने बाध्यता थियो । पर्यटन व्यवसायीले प्रदेश सभाको निर्णयले मदिरा खरिदका लागि विदेशिने रकम रोकिनेमा आशा गरेका छन् ।
स्थानीय मदिरालाई कानुनी मान्यता दिने निर्णय गरेको प्रदेश सभाले वार्षिक ६० लिटरभन्दा बढी उत्पादन गर्नेको हकमा भने अनिवार्य उद्योगका रूपमा दर्ता गरेर इजाजत लिनुपर्ने व्यवस्था गरेको छ । गण्डकी प्रदेशका पर्यटन तथा उद्योग मन्त्री मित्रलाल बस्यालले परम्परा, संस्कार र संस्कृतिका रूपमा घरेलु प्रयोजनका लागि ६० लिटर रक्सी र जाँड बनाउन छुट दिने व्यवस्था भएको बताए ।
उनले नयाँ व्यवस्थासँगै मदिरा आयात प्रतिस्थापन हुने र स्थानीय उत्पादनले बजार पाउने विश्वास व्यक्त गरे ।