आइजिपीबाट हटाउने निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा
काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले सर्वोच्च अदालतको ढोका ढकढक्याएका छन्।
कार्कीले आफ्नो पदबाट हटाउने निर्णय बदर गरी पुनः प्रहरी महानिरीक्षकमा बहाली गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन पठाएका हुन्। उनले वारेसमार्फत रिट दायर गरेका छन्।
कार्कीका तर्फबाट अधिवक्ता टीकाबहादुर कुँवरले सर्वोच्च अदालतमा रिट पठाइएको जानकारी दिए। उनका अनुसार रिट अहिले सर्वोच्च अदालतमा अध्ययनको क्रममा रहेको छ।
‘रिट पठाइसकेका छौं। सर्वोच्चले अध्ययन गरिरहेको होला,’ अधिवक्ता कुँवरले भने।
हालसम्म उक्त रिट सर्वोच्च अदालतमा औपचारिक रूपमा दर्ता भने भइसकेको छैन।
सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। सोही निर्णयलाई चुनौती दिँदै कार्कीले आफूलाई पुनः आइजिपी पदमा बहाली गर्न माग गरेका हुन्।
