मनास्लु क्षेत्रमा सुक्खा पहिरोको जोखिम बढ्यो, सेराङ गुम्बा जाने बाटो प्रभावित
गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा सुक्खा पहिरो खस्ने क्रम नरोकिएपछि स्थानीयवासीमा चिन्ता बढेको छ। चुमनुब्री गाउँपालिका–५ क्य्राकस्थित बुम्राङ क्षेत्रमा मंगलबार बिहानदेखि ठूलो पहिरो निरन्तर झरिरहेको छ।
वडाध्यक्ष काल्देन छेवाङ लामाका अनुसार क्य्राकबाट सेराङ गुम्बातर्फ जाने पैदलमार्गको बीचमा पर्ने बुम्राङ क्षेत्रमा पहिरो गएको हो। पहिरो खस्ने क्रम जारी रहेकाले घटनास्थलसम्म पुगेर क्षतिको अवस्था निरीक्षण गर्नसमेत कठिन भएको उनले बताए।
उनका अनुसार साकिमा डाँडादेखि सेराङ खोलासम्म फैलिएको पहिरोको लम्बाइ करिब ३०० मिटर रहेको अनुमान छ। पहिरो खस्दा धुवाँ उडेजस्तो सेतो धुलो फैलिने गरेको छ। पहिरोको चौडाइ भने निरन्तर खसिरहेकाले यकिन हुन सकेको छैन।
पहिरोका कारण सेराङ गुम्बामा रहेका करिब ४०० जनाको दैनिक जीवन प्रभावित हुने देखिएको छ। गुम्बामा अध्ययनरत झन्डै २०० विद्यार्थी, लामा गुरु तथा वृद्धाश्रममा रहेका गरी करिब ४०० जनालाई खाद्यान्न र अन्य आवश्यक सामग्री पुर्याउन समस्या उत्पन्न भएको वडाध्यक्ष लामाले जानकारी दिए।
यसैबीच, गोरखाको उत्तरी हिमाली क्षेत्रमा सुक्खा पहिरो र हिमपहिरोका घटना बढ्न थालेपछि स्थानीय बासिन्दा थप त्रसित बनेका छन्।
यसअघि गत असोज २५ गते सेराङ हिमालको पूर्वी क्षेत्रमा हिमपहिरो खस्दा उङ्गिलुङ खोला थुनिएको थियो। त्यसपछि बूढीगण्डकी नदीमा विनाशकारी बाढी आएको थियो।
लगातार भइरहेका यस्ता प्राकृतिक घटनाले मनास्लु क्षेत्रको जनजीवन, आवागमन र स्थानीय पूर्वाधारमा जोखिम बढाएको छ। पहिरो नरोकिएकाले प्रभावित क्षेत्रको अवस्था र सम्भावित जोखिमबारे थप चिन्ता व्यक्त गरिएको छ।
