चाँडो अन्तरिम सरकार गठन गर्न जेनजीको माग, सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी

टुरिजमफेस
काठमाडौं । परिवर्तनकारी जेनजी समूहले चाँडो भन्दा चाँडो अन्तरिम सरकार गठनका लागि दवाव बढाउँदै लिएका छन् । दवाव बढ्दै गएपछि राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीको माग बमोजिम पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेको राष्ट्रपति निकट स्रोतले जनाएको छ ।
राष्ट्रपतिले सम्भवतः शुक्रबार कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेको बताइएको छ । बिहीवार राति राष्ट्रपति, कार्की तथा प्रधान सेनापति अशोकराज सिग्देलबीच छलफल भएको थियो । त्यसअघि राष्ट्रपतिले संवैधानिक कानूनका ज्ञाता तथा राजनीतिक दलका नेताहरूसँग छलफल गरी निकासको बाटो खोजेका थिए ।
स्रोतका अनुसार सबै राजनीतिक दलका नेताले कार्कीलाई प्रधानमन्त्री बनाउन सहमति जनाएका छन् । राष्ट्रपति निवासमा भएको छलफलमा कतिपय नेताले राष्ट्रपतिलाई प्रत्यक्ष भेटेका थिए भने कतिपयलाई राष्ट्रपतिले फोनमा कुरा गरेका थिए । स्रोतका अनुसार राष्ट्रपतिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासँग शितल निवासमा छलफल गरेका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवा र कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोनमा कुरा भएको राष्ट्रपति कार्यालय स्रोतले जनायो । घाइते देउवा यतिखेर अस्पतालमा उपचाररत छन् भने ओली सैनिक सुरक्षामा छन् । राष्ट्रपतिले नेताहरूलाई जसरी पनि प्रधानमन्त्री नियुक्त गर्नुपर्ने प्रेसर रहेको र यस्तो प्रेसर धान्न नसकिने बताएका थिए ।