धार्मिक तीर्थस्थल विन्ध्यवासिनी मन्दिरमा नवदुुर्गा महोत्सव हुने

टुरिजमफेस
गण्डकी । पोखराको प्रसिद्ध धार्मिक तीर्थस्थल विन्ध्यवासिनी मन्दिरमा नवदुुर्गा महोत्सव हुने भएको छ ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा यही असोज ६ गते घटस्थापनादेखि १५ गते महानवमीसम्म नवदुुर्गा महोत्सव सञ्चालन हुन लागेको समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।
उनका अनुुसार महोत्सवमा श्रीमद्देवी भागवत ज्ञान महायज्ञ सञ्चालन गरिने छ । यस अवधिमा प्रत्येक दिन बिहान ९ः०० देखि मध्याह्न १२ः०० बजेसम्म महायज्ञ सञ्चालन हुनेछ । त्यस्तै सतचण्डी महानुष्ठान बिहान ६ः०० देखि ९ः०० बजेसम्म हुनेछ भने भजनकीर्तन अपराह्न २ः०० देखि ४ः०० बजेसम्म गरिने समितिले जनाएको छ ।
विजया दशमीको अवधिभर मन्दिरमा नित्य पूजा बिहान ४ः०० देखि प्रारम्भ भई भक्तजनहरूको दर्शनका लागि मन्दिर ५ः०० बजेदेखि खुला गरिनेछ । साथै प्रत्येक साँझ ६ः०० बजे आरती गरिनेछ । महायज्ञका वाचकका रूपमा श्रीकृष्णनुरागी पण्डित पशुपति पौडेल रहने जनाइएको छ ।
विजयादशमीको पावन अवसरमा २०६४ सालदेखि विध्यवासिनी नवदुर्गा महोत्सवको आयोजना गर्दै आइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । महोत्सवका अवसरमा विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा र श्रीमद्देवी भागवत ज्ञान महायज्ञ गरिँदै आइए पनि यस वर्ष भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका कारण पूर्वतयारीमा बाधा पुग्न गएकाले शोभायात्रा भने स्थगित गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।