प्रदेश सरकार समक्ष पोखराको पर्यटन क्षेत्रमा भएको क्षतिको प्रारम्भिक प्रतिवेदन प्रस्तुत

टुरिजमफेस
गण्डकी । पोखरा पर्यटन परिषद्ले पोखराको पर्यटन क्षेत्रमा भएका क्षतिको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको छ ।
परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वमा पर्यटन सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिसहितको टोलीले गण्डकी प्रदेशका पर्यटनमन्त्री मित्रलाल बस्यालसमक्ष जेनजी आन्दोलनका क्रममा पर्यटन क्षेत्रमा भएका क्षतिको प्रारम्भिक प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा पोखराका विभिन्न १० वटा होटेल तथा व्यावसायिक संस्थामा ठूलो क्षति भएको उल्लेख गरिएको छ । प्रतिवेदनअनुुसार पोखराको होटल सरोबरमा रु एक अर्ब, बगैँचा रिसोर्टमा ४० करोड, होटेल गुडविलमा २० करोड, पोखरा इभेन्ट सेन्टरमा १९।५ करोड, अङ्शुुभरा कम्लेक्समा रहेका पसल तथा व्यवसायमा रु आठ करोड, बरपीपल रिसोर्टमा तीन करोड र होटल एडम प्रालिमा एक करोड क्षति भएको अनुमान गरिएको छ ।
त्यस्तै, होटेल ल्याण्डमार्कमा रु २५ लाख, सामुदायिक सेवा केन्द्र बैदाममा १२ लाख, मन्त्र थकालीमा पाँच लाखको क्षति भएको अनुुमान गरिएको छ । उक्त क्रममा उक्त संस्थामा जोडिएका विभिन्न कार्यालय, बैंकका साथै कतिपय होटेलमा स्वदेशी एवं विदेशी पर्यटकका सामानमा पनि क्षति भएको परिषद्ले जनाएको छ ।
पर्यटकीय यामको सुरुआतकै समयमा भएको आन्दोलन एवं आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचनका कारण समग्र पर्यटन क्षेत्रमा परेको असर आउँदो पर्यटकीय याममासमेत पर्ने देखिएको भन्दै परिषद्ले यस विषयमा संवेदनशील भई व्यवसायी बचाउनका लागि अनुरोध गरेको छ ।