आरोहीको सुरक्षा र अधिकार बलियो बनाउन पर्यटन कानुन पुनरावलोकनको माग
काठमाडौं । नेपालको पर्वतीय पर्यटनको आधार मानिने हिमाल आरोहण क्षेत्रलाई सुरक्षित, व्यवस्थित र आरोहीमैत्री बनाउन विद्यमान पर्यटन कानुनमा व्यापक सुधार गर्नुपर्ने आवाज उठेको छ।
सगरमाथा आरोही संघको २५औँ स्थापना दिवसका अवसरमा आयोजित रजत महोत्सवमा सहभागी सरोकारवालाले दशकौँ पुरानो कानुनी व्यवस्थाले अहिलेको पर्वतारोहण क्षेत्रका आवश्यकता सम्बोधन गर्न नसकेको भन्दै पर्यटन ऐनलाई समयअनुकूल बनाउन माग गरेका हुन्।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिङ्मा डेविड शेर्पाले विसं २०३५ मा बनेको पर्यटन ऐन अझै पूर्ण रूपमा प्रतिस्थापन हुन नसक्नु पर्वतीय पर्यटन विकासका लागि चुनौती भएको बताए। उनले आरोहीको अधिकार, सुरक्षा र कल्याणलाई कानुनी रूपमा सुनिश्चित गर्ने गरी ऐन संशोधन गर्नुपर्नेमा जोड दिए।
उनका अनुसार सगरमाथा आरोहणको इतिहास सात दशकभन्दा लामो भइसक्दा पनि जोखिम मोलेर हिमाल चढ्ने आरोही र पर्वतीय गाइडले अपेक्षित सुरक्षा, सम्मान र सामाजिक संरक्षण पाउन सकेका छैनन्। हिमाल आरोहणका क्रममा ज्यान गुमाउने आरोहीका परिवारले भोग्नुपर्ने सामाजिक तथा आर्थिक समस्यालाई पनि राज्यको नीतिमा समेट्नुपर्ने उनको भनाइ छ।
शेर्पाले नेपाली युवालाई विदेश पलायन हुनबाट रोक्न पर्यटन तथा पर्वतारोहण क्षेत्रमा रोजगारी र व्यावसायिक अवसर सिर्जना गर्नुपर्ने बताए। नेपालका हिमालले विश्वभर पर्यटक आकर्षित गरिरहेकाले यस क्षेत्रलाई रोजगारी र आर्थिक समृद्धिको महत्वपूर्ण आधार बनाउन सकिने उनको भनाइ थियो।
आरोहीका लागि छुट्टै कल्याणकारी कोषको माग
सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाले आरोही र माउन्टेन गाइडको सुरक्षा, हकहित तथा सामाजिक सुरक्षाका लागि सरकारले प्रभावकारी नीति बनाउनुपर्ने बताइन्।
उनले हिमालमा जोखिमपूर्ण काम गर्ने आरोही तथा गाइडको भविष्य सुरक्षित गर्न छुट्टै कल्याणकारी कोष स्थापना गर्नुपर्ने माग गरिन्। उनका अनुसार नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन प्रत्यक्ष योगदान दिने यी जनशक्तिको सामाजिक सुरक्षालाई राज्यले प्राथमिकतामा राख्न आवश्यक छ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले पर्वतीय पर्यटनको विस्तारसँगै नेपालको समग्र पर्यटन अर्थतन्त्र बलियो हुने बताए। हिमालको संरक्षणसँगै अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्वतीय पर्यटनको प्रचार, प्रवर्द्धन र ब्रान्डिङलाई थप प्रभावकारी बनाउनुपर्ने उनले बताए।
संघले प्रत्येक दुई वर्षमा आरोहीलाई सम्मान गर्दै आएको जानकारी दिँदै उनले पर्वतारोहण क्षेत्रमा योगदान पुर्याउने व्यक्तिको सम्मानले नयाँ पुस्तालाई समेत यस क्षेत्रमा आकर्षित गर्न सहयोग पुग्ने बताए।
जोखिमपूर्ण काम गर्ने जनशक्तिको सुरक्षा मुख्य प्रश्न
सगरमाथा आरोहणका क्रममा आरोही र गाइडले अत्यधिक चिसो, हिमपहिरो, खराब मौसम तथा अन्य प्राकृतिक जोखिम सामना गर्नुपर्छ। यस्ता जोखिमका कारण कतिपयले ज्यान गुमाएका छन् भने धेरैले गम्भीर शारीरिक तथा आर्थिक क्षति बेहोर्नुपरेको पर्वतारोहण क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्।
संघका प्रथम उपाध्यक्ष दिवस पोखरेलले आरोही र गाइडको सुरक्षा तथा अधिकार सुनिश्चित गर्न संघीयदेखि प्रदेश तहसम्म स्पष्ट र व्यवहारिक नीति आवश्यक रहेको बताए।
उनका अनुसार विश्वले नेपालको हिमालको सौन्दर्य र उचाइलाई पर्यटनको आकर्षणका रूपमा हेर्ने गरे पनि त्यसलाई विश्वसामु चिनाउन जोखिम मोलेर काम गर्ने आरोही तथा गाइडको वास्तविक संघर्ष पर्याप्त रूपमा चर्चामा आउन सकेको छैन।
दुर्घटनापीडित परिवारका लागि राज्यको जिम्मेवारी
संघका महासचिव शिवबहादुर सापकोटाले आरोहणका क्रममा दुर्घटनामा परेका आरोहीलाई निःशुल्क र गुणस्तरीय उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरे। ज्यान गुमाएका आरोहीका बालबालिकाका लागि उच्च शिक्षा तथा छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने उनको माग छ।
उनका अनुसार पर्वतीय पर्यटनबाट राज्यले ठूलो आर्थिक लाभ लिइरहे पनि त्यस क्षेत्रमा प्रत्यक्ष जोखिम उठाउने जनशक्तिको सामाजिक तथा आर्थिक सुरक्षा कमजोर रहेसम्म पर्यटनको दिगो विकासको लक्ष्य पूरा हुन कठिन हुन्छ।
नेपालको पर्यटन आम्दानी, अन्तर्राष्ट्रिय पहिचान र रोजगारी सिर्जनामा पर्वतारोहणको महत्वपूर्ण योगदान रहेकाले अब पर्यटन नीति केवल हिमालको प्रवर्द्धनमा सीमित नराखी हिमाल चढ्ने मानिसको सुरक्षा र भविष्यसँग पनि जोडिनुपर्ने सरोकारवालाको निष्कर्ष छ।
कार्यक्रममा सगरमाथा आरोहण गर्ने आरोही तथा पर्वतीय पर्यटनका विषयमा पत्रकारिता गर्ने सञ्चारकर्मीलाई सम्मान गरिएको थियो। संघको २५औँ स्थापना दिवसका अवसरमा प्रकाशित ‘रजत स्मारिका’ समेत सार्वजनिक गरिएको थियो।
