विपद्ले क्षतिग्रस्त सडकमा अस्थायी डाइभर्सन निर्माणमा जोड

टुरिजमफेस
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढी पहिरोजस्ता प्राकृतिक विपद्ले क्षति पुर्याएको विपी राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्डमा अस्थायी डाइभर्सन निर्माणमा जोड दिएको छ ।
क्षतिग्रस्त सडकका कारण सवारी साधन आवतजावतमा समस्या भइरहेका बेला मन्त्रालयले यातायात व्यवस्था सहज बनाउन अस्थायी डाइभर्सन निर्माणमा जोड दिएको हो ।
गत वर्षको बाढीले विपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड क्षति पुर्याएको थियो । उक्त सडक खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकामा पुनः यस वर्षको बाढीले करिब चार किलोमिटर सडक पूर्णरूपमा बगाएको थियो ।
गत वर्षको बाढीले क्षति पुर्याएको सडक स्थायीरूपमा निर्माण गर्नका लागि केही खण्डको ठेक्का लगाइसकिएको छ । केही खण्डको ठेक्का सम्झौता गर्ने अन्तिम प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।
बाढीले क्षतिग्रस्त बनाएको करिब चार किलोमिटर सडकमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गर्न लागिएको हो । मन्त्री कुलमान घिसिङले सङ्घीय राजधानी काठमाडौँसँग बागमती, मधेस र कोशी प्रदेशका जिल्लालाई जोड्ने लाइफ लाइन सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न सडक विभाग र निर्माण व्यवसायीलाई अग्रह गरेका छन् ।
मन्त्री घिसिङको नेतृत्वमा सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोली सडक अनुगनमा गएको थियो । मन्त्री घिसिङले बाढीपहिरोले क्षतिग्रस्त चौकीडाँडालगायतका क्षेत्रको अनुगमन गरेका थिए ।