सन् २०२६ मा नेपालको आर्थिक वृद्धि दरमा सुधार हुन्छः आइएमएफ

टुरिजमफेस
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको छ । सन् २०२५ मा ४.३ प्रतिशत आर्थिक वृद्धि दर हुने अनुमान गरेको आइएमएफले सन् २०२६ मा यस्तो वृद्धिदर ५.२ प्रतिशत पुग्ने ताजा वल्र्ड इकोनोमिक आउटलुकमार्फत प्रक्षेपण गरेको हो । तर सन् २०३० मा भने पुनः आर्थिक वृद्धिदर घट्ने उसको प्रक्षेपण छ ।
सन् २०२३ मा दुई प्रतिशतमा खुम्चिएको नेपालको आर्थिक वृद्धिदर सन् २०२४ मा ३.७ प्रतिशत थियो ।
सन् २०३० मा ५ प्रतिशतको मात्र आर्थिक वृद्धि हासिल हुन्छ भन्ने प्रक्षेपण गर्नुको अर्थ नेपालमा आर्थिक वृद्धि गर्ने खालका गतिविधि भइरहेका छैनन् भन्ने हो । तत्काललाई आयातित वस्तुको खपतका आधारमा आर्थिक वृद्धिदर केही सुधार हुने प्रक्षेपण गरिए पनि दीर्घकालीन रूपमा अर्थतन्त्र सुधारका लागि उत्पादनमूलक क्षेत्रलाई जोड दिइनु पर्छ । तर नेपालमा उत्पादन वृद्धिका लागि उत्साहजनक काम हुन सकिरहेको छैन ।
विज्ञहरूले दश वर्षपछि देशको अर्थतन्त्र राम्रो बनाउने हो आजैका मितिदेखि काम गर्नुपर्ने बताउँदै आए पनि नेपाल केही वर्षयता राजनीतिक झमेलामा बढी अल्झिन पुगेको छ । आर्र्थिक वृद्धिदर गर्ने अवसर पाएका केही सरकारले पनि काम नगरी समय खेर फालेको जनआक्रोश छ । गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि झनै राजनीतिक निकास कसरी हुने भन्नेमा अन्योल थपिएको छ । यतिखेर अर्थतन्त्र सुधारका लागि भन्दा राजनीतिका कुरा बढी हुने गरेको छ ।
आइएमएफका अनुसार सन् २०२४ को तुलनामा यो वर्ष समग्र विश्वको आर्थिक वृद्धिदर पनि केही कमजोर हुनेछ । सन् २०२४ मा ३.३ प्रतिशत रहेको विश्वको आर्थिक वृद्धिदर सन् २०२५ मा ३.२ र २०२६ मा ३.१ रहने आइएमएफको अनुमान छ । विज्ञहरू विश्वका विकसित मुलुकले आर्थिक विकासका लागि निकै प्रगति गरेका कारण आर्थिक वृद्धि त्यति धेरै हुन नसके पनि नेपाल जस्ता विकास गर्नुपर्ने दवावमा रहेका मुलुकका लागि भने देश राजनीतिक द्वन्द्वमा फस्दा चरम समस्या आउन सक्ने चेतावनी दिएका छन् । उनीहरूले नेपालले आफूसँग भएका सम्भावनाहरू पर्यटन, कृषि, ऊर्जा जस्ता क्षेत्रलाई केन्द्रित गर्न ढिलाइ भइरहेको बताएका छन् ।