ललितपुरमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु
टुरिजमफेस
ललितपुर । १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ ललितपुरमा सुरु भएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रदर्शनी कात्तिक २ गतेसम्म सञ्चालन हुने जानकारी गराइएको छ ।
प्रदर्शनीको उद्घाटन समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर गोविन्दप्रसाद शर्माले नेपालको पुष्प व्यवसायको विकास, विस्तर र प्रवर्द्धनका लागि व्यवसायीहरूले उठाएको मुद्दा सम्बोधनका लागि नीतिगत विषयमा सहजीकरण गर्ने बताए ।
“पुष्प व्यवसायको विकास र प्रवर्द्धनमा निजी क्षेत्रको मेहनतले आफ्नै प्रयासमा भए गरेको काम सराहनीय छ, पुष्प व्यवसायमा विश्वमा आएको परिवर्तन र अभ्यासलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ, गुणस्तरीय स्वनियमनलाई उद्यमीहरूले ध्यान दिनुपर्छ”, उनले भने ।
उनले नेपाल सरकारले लागू गरेको बीउबिजन नियमावलीका आधारमा आलंकारिक बिरुवाहरूलाई दर्ता गर्ने कार्यलाई अगाडि बढाइएको जानकारी गराउँदै नेपाली पुष्प व्यवसायको विकास र विस्तारका लागि अवैधानिक रूपमा आउने फूललाई रोकेर देशभित्रका पुष्प व्यवसायीहरूलाई प्रोत्साहन गर्न व्यवसायीहरूले नै सहयोग गर्नुपर्नेमा जोड दिए ।
“कृषि विधेयक तयार भएर पनि संसद् नभएको कारणले अल्झिएर रहेको छ, कृषि क्षेत्रका हितलाई समेटेर कृषि नीति तयार भएको छ, मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको छ, पुष्प व्यवसायीहरूको हितका लागि व्यवसायको संरचनाको जोखिमको मूल्याङ्कन गरेर बिमा गर्ने व्यवस्थाका लागि नीतिगत व्यवस्था गर्ने प्रयास जारी छ”, उनले भने ।
उनले प्लास्टिकका फूलहरूलाई उपयोगमा नियन्त्रण गरेर पुष्प व्यवसायीहरूलाई प्रोत्साहनमा जोड दिनुपर्छ भन्दै देश बाहिरबाट आउने कृषिजन्य एवं पुष्पजन्य सामग्रीको क्वारेन्टाइन परीक्षणका विषयमा ध्यान दिएर नियन्त्रण गर्ने काम गर्छौं भने ।
