एउटै रुखमा मालदह र दशहरी, महोत्तरीका किसान चकित
महोत्तरी । तराई–मधेस क्षेत्रमा अहिले आँप पाक्ने र बजारमा आउने मुख्य समय चलिरहेको छ। खेतबारी, बगैँचा र घरआँगनमा विभिन्न जातका आँप लटरम्म फलेका छन्। तीमध्ये मालदह र दशहरी जातका आँप स्वाद र गुणस्तरका कारण विशेष लोकप्रिय मानिन्छन्।
यही क्रममा महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरका किसान रामभगत महतोको घरमा भने अनौठो दृश्य देखिएको छ। उनको आँगनमा रहेको एउटै आँपको रुखमा मालदह र दशहरी दुवै जातका आँप फलिरहेका छन्।
दुई वर्षअघि मालदह जातको बिरुवा भनेर रोपिएको उक्त रुखले यस वर्ष पहिलोपटक फल दिएको हो। फल लागेपछि रुखका दुई मुख्य हाँगामा फरक–फरक जातका आँप देखिएपछि परिवार मात्र होइन, स्थानीयवासी पनि अचम्मित बनेका छन्।
महतोका अनुसार एउटा हाँगामा मालदह जातका ठूला आकारका आँप छन् भने अर्को हाँगामा दशहरी जातका तुलनात्मक रूपमा साना फल लागेका छन्। “एउटै रुखमा दुई फरक स्वाद र विशेषताका आँप देख्दा निकै खुसी लागेको छ,” उनले बताए।
बागवानी क्षेत्रका जानकार तथा अवकाशप्राप्त कृषि प्राविधिक ताराबहादुर भुजेलका अनुसार बिरुवा तयार गर्ने क्रममा कलमी प्रविधि प्रयोग गर्दा यस्तो अवस्था सिर्जना हुन सक्छ। उनका अनुसार बिरुवाको तल्लो भागमा दशहरी र माथिल्लो भागमा मालदह जातको कलम जोडिएको अवस्थामा दुवै जातका हाँगा विकसित भई फल दिन सक्छन्।
यद्यपि, एउटै रुखमा दुई फरक जातका आँप फल्नु सामान्य घटना नभई निकै दुर्लभ मानिने भुजेल बताउँछन्। यस्तो उदाहरण विरलै भेटिने भएकाले महतोको बगैँचाको यो रुख अहिले स्थानीय चासोको विषय बनेको छ।
कृषि विज्ञहरूका अनुसार कलमी प्रविधिको सही प्रयोगले एउटै बोटमा विभिन्न जातका फल उत्पादन गर्न सम्भव भए पनि व्यवहारमा यस्ता उदाहरण कमै देखिन्छन्। महोत्तरीको यो घटना भने आधुनिक बागवानी प्रविधिको रोचक नमुनाका रूपमा हेरिएको छ।
