शिक्षा, स्वास्थ्य क्षेत्रमा कोरियाली स्वयंसेवकले सघाउँदै
टुरिजमफेस
काठमाडौं । कोरियाली अन्तर्राष्ट्रिय सहयोग संस्था (कोइका) ले नेपालको शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधि, पर्यटनलगायत क्षेत्रमा स्वयंसेवक परिचालन गरी सरकारीस्तरको सम्बन्धलाई जनस्तरमा पनि सुमधुर तुल्याउँदै आएको छ ।
द्विपक्षीय सहयोगलाई निरन्तरता दिँदै कोइकाले भोलिदेखि कार्यस्थतलमा परिचालन हुनेगरी दुई जना स्वयंसेवकलाई नेपालमा खटाएको छ । यहाँस्थित कोइका कार्यालयका अनुसार स्वयंसेवक सोक्हेइ यीले भोलिदेखि बुटवलस्थित कोरिया-नेपाल पोलिटेक्निक इन्स्टिच्युट र जिनप्यो ज्योङले धनगढीमा रहेको सरस्वती माध्यमिक विद्यालयमा स्वयंसेवा गर्नेछन् ।
हाल काठमाडौँ, ललितपुर, भक्तपुर, बागलुङ, कास्की, इलाम र कैलालीमा १० जना कोरियाली स्वयंसेवक कार्यरत छन् । कोभिड–१९ महामारीपछि कोइकाले विभिन्न क्षेत्रमा गरी २७ जना स्वयंसेवक नेपालमा परिचालन गरेको छ । सन् १९९० यता ४९५ जना कोरियाली स्वयंसेवकले नेपालमा सेवा गरिसकेका छन् ।
स्वयंसेवक कार्यक्रमको उद्देश्य कोरियाली ज्ञान र अनुभवलाई समुदायस्तरमा स्थानान्तरण गर्नाका साथै साझेदार मुलुकहरूसँगको मित्रता र आपसी बुझाइ सुदृढ गर्नु हो । यसबाट दिगो विकासका लक्ष्य हासिल गर्न सहयोग पुग्ने कोयकाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
