हिमपातपछि मुस्ताङका याकचौँरी बेँसी झर्न थाले
टुरिजमफेस
मुस्ताङ । एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै यहाँका उच्च लेकमा पालिएका याकचौँरीलाई बेँसीमा स्थान्तरण गरिएको छ । हिमपातका कारण उच्च लेक क्षेत्रमा घाँसे चरनक्षेत्र हिउँले पूरै ढाकिएको र पानीका मुहान हिउँले जमेपछि याकचौँरीलाई हिमपात र चिसोबाट जोगाउन बेँसीको न्यानो स्थानमा झारिएको हो ।
बर्सेनि मुस्ताङका उच्च लेकमा हिउँदयाममा हिउँ पर्न थालेपछि बेँसीमा झारिने र बर्खायाममा हिउँ पग्लिन थालेपछि उच्च लेक तथा खर्कमा पुर्याएर याकचौँरीको व्यवस्थापन गर्ने गरिन्छ ।
मुस्ताङका पाँच स्थानीय तहका उच्च लेकमा पालिएका परम्परागत याकचौँरी कात्तिकदेखि जेठ महिनासम्म बेँसीमा स्थान्तरण गरिने गरिएको छ । यसरी हिउँदयाममा हिमपात र चिसो छल्न झारिएका याकचौँरीलाई गर्मी सुरु भएपछि वैशाखदेखि असोज मसान्तसम्म उच्च लेकमा राखिने गरिएको हिमालयन चौरीपालक तथा संरक्षण समितिका सचिव सोजन हिराचनले बताए ।
हिउँदयाममा उच्च लेकमा हिउँले चरनक्षेत्र अभाव हुने याकचौँरीलाई घाँस, पानी र आहारा व्यवस्थापन गर्न समस्या हुने तथा गोठालालाई पनि हिमपात र चिसोले सास्ती पुर्याउने भएकाले उच्च लेक र खर्कका याकचौँरी क्रमशः बेँसी झारिने गरिएको हो । यसरी झारिएका याकचौँरी बर्खायाममा उच्च लेकका अस्थायी गोठमा लगेर पालन गरिन्छ । बर्खायाममा हिउँ पग्लिएर घाँस पलाउने र गोठालालाई याकचौँरी व्यवस्थापन गर्न सहज हुने भएकाले समुद्री सतहको चार हजार मिटरमाथिको उच्च लेकमा याकचौँरीपालन गर्ने गरिएको समितिका सचिव हिराचनको भनाइ छ ।
मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मार्चे लेकका १० घरपरिवारका १० गोठका झण्डै एक हजार याकचौँरी हिमपात र जाडो छल्न बेँसी झारिएको समितिका सचिव हिराचनले उल्लेख गरे । त्यसैगरी थासाङस्थित धवलागिरि आइफल रहेको मुलीखर्क लेकका आठ घरपरिवारका करिब पाँच सय याकचौँरी र थासाङ–१ र घरपझोङ–२ मा पर्ने बतासे लेकमा रहेका छ घरपरिवारका करिब सात सय याकचौँरी हिमपातसँगै जाडो छल्न बेँसी झारिएको समिति सचिव हिराचनको भनाइ छ ।
