नाटाको नेतृत्वमा भरतजंग पाण्डे, अध्यक्षमा १८८ मतसहित विजयी
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) को नयाँ अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न निर्वाचनमा पाण्डेले १८८ मत प्राप्त गर्दै प्रतिस्पर्धीलाई पछि पारेर नाटाको नेतृत्व हात पारेका हुन्।
अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा युविका भण्डारीले १५८ मत र जीस्वन तुलाधर श्रेष्ठले १०६ मत प्राप्त गरे।
नाटाको वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा २५१ मतसहित निर्वाचित भएका छन्। उपाध्यक्ष पदमा सविता केसी भट्टराईले १७७ मत ल्याएर जित हासिल गरिन्।
त्यसैगरी महासचिवमा राजकुमार देवकोटा १५८ मतसहित निर्वाचित हुँदा सचिवमा रमेश पराजुलीले १९५ मत प्राप्त गरे। कोषाध्यक्षमा डिकी शेर्पा २०८ मत तथा सहसचिव/सहकोषाध्यक्षमा जीवन कोइराला १६६ मतसहित निर्वाचित भएका छन्।
कार्यसमिति सदस्यतर्फ स्मरिका थापा, प्रकाश लोहनी, नवीन गुरुङ, दिनेश मैनाली, सुमनलाल श्रेष्ठ, स्वस्तिका प्रधान, सङ्केत दाहाल र बिभाष पौडेल निर्वाचित भएका छन्।
नाटाको नयाँ नेतृत्व चयनका लागि शुक्रबार मध्याह्नदेखि मतदान भएको थियो। निर्वाचनसँगै नाटाको ५९औँ वार्षिक साधारणसभा पनि सम्पन्न भएको छ।
यसअघि नाटाको नेतृत्व कुमारमणि थपलियाले गर्दै आएका थिए। नयाँ नेतृत्वसँगै नेपालको पर्यटन तथा ट्राभल व्यवसायलाई थप व्यवस्थित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने जिम्मेवारी पाण्डे नेतृत्वको कार्यसमितिमा आएको छ।
