हरियालीसँगै पर्यटनको गन्तव्य बन्दै कैलालीका सामुदायिक वन
धनगढी । कैलालीका सामुदायिक वन संरक्षणको परम्परागत अवधारणाबाट अघि बढ्दै उत्पादन, रोजगारी र पर्यटनसँग जोडिने सम्भावना बोकेका हरित गन्तव्यका रूपमा विकसित हुन थालेका छन्। खाली तथा कम उपयोग भएका वन क्षेत्रमा फलफूल, जडीबुटी, बाँस, बेतबाँस, घाँस र बहुउपयोगी प्रजातिका बिरुवा रोप्न थालिएपछि वनको प्राकृतिक सौन्दर्यसँगै पर्यटकीय आकर्षण बढ्ने आधार तयार भएको छ।
घोडाघोडी नगरपालिका–८ स्थित जरही सामुदायिक वन यसको उदाहरण बनेको छ। कुनै समय बुट्यानले भरिएको र अतिक्रमणको समस्यासमेत रहेको क्षेत्रमा अहिले विभिन्न प्रजातिका बिरुवा हुर्किरहेका छन्। स्थानीयको सहभागितामा संरक्षण, घेराबार र वृक्षरोपण अघि बढेपछि वन क्षेत्रको स्वरूपमा उल्लेख्य परिवर्तन आएको छ।
पछिल्ला वर्षमा जरही वनले अनावश्यक बुट्यान हटाएर खाली भएका क्षेत्रमा व्यवस्थित वृक्षरोपणलाई प्राथमिकता दिएको छ। १० बिघाभन्दा बढी क्षेत्रमा श्रीखण्ड, रक्तचन्दन, रुद्राक्ष, शीतलचिनी, दालचिनी, अमला, कागती, बाँस, बकाइनो, कोइरालोलगायतका प्रजाति रोपिएका छन्। टिक र मसलाका पुराना बिरुवासमेत हुर्किँदै गएका छन्।
पर्यटनका दृष्टिले यस्ता बहुप्रजातीय वन क्षेत्रले प्रकृति अवलोकन, वन भ्रमण, अध्ययन तथा ग्रामीण पर्यटनका गतिविधि विस्तार गर्ने सम्भावना राख्छन्। विशेषगरी फलफूल, औषधिजन्य वनस्पति, बाँस तथा बेतबाँसका क्षेत्रलाई व्यवस्थित ढंगले विकास गर्न सके पर्यटकका लागि नयाँ अनुभव सिर्जना गर्न सकिन्छ।
कैलालीका अन्य सामुदायिक वनमा पनि वन संरक्षणसँगै पर्यटकीय उपयोगको सम्भावना बढाउने गरी वृक्षरोपण भइरहेको छ। उदासीपुर सब डिभिजन वन कार्यालयअन्तर्गतका १८ वटा वन क्षेत्रमा एक लाख बिरुवा रोपिएका छन्। बसन्ता, लाललमटिया, पञ्चवटी र धनमेलियालगायतका वन क्षेत्रमा करिब २५ हेक्टरमा बेतबाँसका सात हजार बिरुवा रोपिएको छ।
कैलालीमा वन पर्यटनको सम्भावना अझ फराकिलो छ। घना वन, नदीका बगर, चुरे क्षेत्र, जैविक विविधता र स्थानीय समुदायको सहभागितालाई एकीकृत गर्न सके यहाँ प्रकृतिमा आधारित पर्यटनका नयाँ गन्तव्य विकास गर्न सकिन्छ। वनभित्र पदमार्ग, विश्रामस्थल, वनस्पति अध्ययन क्षेत्र, प्रकृति अवलोकन केन्द्र र स्थानीय उत्पादन बिक्री केन्द्र स्थापना गर्न सकिने सम्भावना देखिन्छ।
फलफूल तथा जडीबुटीका बिरुवाको संरक्षणले पर्यटकलाई स्थानीय जैविक विविधतासँग जोड्ने अवसरसमेत दिन सक्छ। वनबाट उत्पादन हुने वस्तुलाई स्थानीय परिकार, हस्तकला तथा अन्य ग्रामीण उत्पादनसँग जोडेर पर्यटन बजारमा लैजान सके सामुदायिक वन उपभोक्ताको आम्दानी बढाउन सकिन्छ।
वन संरक्षणमा स्थानीय समुदायको प्रत्यक्ष सहभागिता भएकाले यसको पर्यटन विकासमा पनि समुदायलाई केन्द्रमा राख्नुपर्ने देखिन्छ। स्थानीयलाई प्रकृति गाइड, होमस्टे सञ्चालक तथा पर्यटक सेवासँग जोड्न सके वन पर्यटनबाट सिर्जित आम्दानी गाउँमै रहने वातावरण बन्न सक्छ।
डिभिजन वन कार्यालय पहलमानपुरले जरही सामुदायिक वनमा भइरहेको वृक्षरोपण र संरक्षणलाई उदाहरणीय मानेको छ। अहिलेको प्रयासलाई निरन्तरता दिँदै वैज्ञानिक ढंगले व्यवस्थापन गर्न सके जरहीलाई वन अध्ययन तथा प्रकृति अवलोकनको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको वन अधिकारीहरूको भनाइ छ।
कैलालीमा भइरहेका उत्पादनमुखी वृक्षरोपणले वनको हरियाली मात्र बढाइरहेको छैन, भविष्यमा प्रकृति र समुदायमा आधारित पर्यटनका लागि आधारसमेत तयार गरिरहेको छ। उचित योजना, पूर्वाधार र प्रचारप्रसार जोड्न सके सामुदायिक वनहरू संरक्षणको क्षेत्रबाट पर्यटक आकर्षित गर्ने हरित गन्तव्यमा रूपान्तरण हुन सक्छन्।
