नाढीमन ताल घोषणामै सीमित, पर्यटक नआउँदा सुनसान
टुरिजमफेस
सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं ६ र ७ मा अवस्थित ऐतिहासिक, प्राकृतिक तथा धार्मिक पर्यटकीयस्थल नाढीमन ताल अहिले सुनसान बनेको छ । पर्यटनको ठूलो सम्भावना बोकेको यस ताल अलपत्र पर्दा पर्यटकको आगमन शून्य बनेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको देशका उत्कृष्ट १०० भ्रमण स्थलमा पर्न सफल यस क्षेत्रमा पर्यटक नआउँदा स्थानीय व्यवसायीसमेत पलायन भएका छन् । चन्द्रनगर गाउँपालिका–७, निवासी ४५ वर्षीया ललिता भगतले नाढीमन ताल नजिकै कस्मेटिक पसल सञ्चालन गरेकी छिन् ।
ताल घुम्न आउने पर्यटकलाई लक्षित गरेर उनले सञ्चालन गरेको पसल नचलेपछि उनी चिन्तामा छिन। उनले यस ठाउँमा पसल चलाउनुभएको १० वर्ष हुन लाग्यो । उनका अनुसार सुरुमा पसल राम्रो चलेको थियो । दैनिक पाँच हजार रुपैयाँसम्मको व्यापार हुने गरेको थियो ।
यस तालमा नेपालसहित भारतको विभिन्न स्थानबाट पर्यटकसमेत आउने गरेका थिए । पर्यटकको सेवाका लागि भनेर ताल परिसरमा होटलसहित विभिन्न पसल व्यवसाय सञ्चालनमा पनि आए । तर, २०७२ सालमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत नेपाली सेनाले सरसफाइसँगै निर्माण गरिदिएको संरचनामा जीर्ण भएपछि तालको अवस्था उस्तै बनेको हो ।
विसं २०७३ असारमा आएको बाढीले सदरमुकाम मलङ्गवाबाट तालसम्म पुग्ने केही सडक बगाएपछि अवस्था थप बिग्रिएको हो । तालसम्म पुग्ने सडकको दुरावस्थाकै कारण भारततर्फबाट पर्यटकहरू आउन छाडेका स्थानीयको कथन छ ।
क्रमिक रुपमा ताल व्यवस्थापन तथा प्रचारप्रचारमा समेत अस्तव्यस्तता देखिएपछि तालसम्म आउने आन्तरिक तथा बाह्य दुवै किसिमका पर्यटक घटेका उनले बताइन् ।
