टल्किएका हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक भरिभराउ
टुरिजमफेस
भक्तपुर । बिहानीको सूर्योदय । पहेँलिदै र रातो हुँदै पारि आकाशमा विस्तारै सूर्यको आकार देखिने सूर्योदयको मनमोहक दृश्य, सूर्यको उदाउँदो किरणले राताम्मे बनेर टल्किएका हिमाल । अनि किनै बेरपछि हरिया डाँडामा देखिने बादल र शिरमा देखिने लामा टल्किएका हिमाली दृश्य । यी अहिले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटको डाँडाबाट देखिने दृश्य हुन् ।
सूर्योदयदेखि सूर्यास्तसम्म, विश्वको अग्लो हिमाल सगरमाथादेखि विभिन्न आकर्षक १० हिमाली दृश्य अवलोकनको केन्द्रविन्दु बनेको नगरकोट अचेल आन्तरिक र बाह्य पर्यटकको आगमनको प्रमुख गन्तव्य बन्दै गएको छ ।
नगरकोटसँगै विश्व सम्पदा सूचीमा सूचिकृत चाँगुनारयण मन्दिरसहितका सम्पदालाई पर्यटन प्रवर्द्धनका माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले चाँगुनारायण नगरपालिकाले गत वैशाख १ गतेदेखि आगामी चैत मसान्तसम्मका लागि आयोजना गरेको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ ले पर्यटकलाई थप आकर्षित बनाएको छ ।
पर्यटकीय क्षेत्र नगरकोट जाने मुख्य सडक ११ वर्षसम्म निर्माण कम्पनीले अलपत्र पारेपछि करिब रु १७ करोडको लागतमा उक्त मार्ग नगरपालिकाले कालोपत्र गरेसँगै नगरकोट जान सहज भएपछि पर्यटकहरूको आगमन बढेको पर्यटन व्यवसायी बताउँछन् ।
नगरकोट बसपार्कसँगै रहेको होटल मेरिगोल्डका सञ्चालक एवं पर्यटन व्यवसायी गोकुल लामिछानेले ११ वर्षदेखि सुस्ताएको पर्यटन व्यवसाय सडक कालोपत्र गरेपछि फस्टाएको बताए । यसअघि यहाँको पर्यटन व्यवसाय सडककै कारणले सुस्ताएको थियो । एघार वर्षसम्म एउटा ठेकेदारले सडक मात्रै अलपत्र पारेन, सिङ्गो पर्यटन व्यवसाय नोक्सानमा पारेको उनको भनाइ छ ।
लामिछानेले भने, “सडककै कारणले नगरकोट आउने पर्यटक घटेका थिए, सोही कारण व्यवसायीले मार खेप्नु पर्यो तर अहिले चाँगुनारायण नगरपालिकाले भ्रमण वर्ष सुरु गरेसँगै नगरप्रमुख जीवन खत्रीको नेतृत्वमा सडक कालोपत्र गराएपछि पर्यटकको आगमन बढेको छ, यहाँका व्यवसायीमा अहिले उत्साह थपिएको छ ।”
नगरकोटस्थित होटल चौतारीका सञ्चालक एवं पर्यटन व्यवसायी बद्रि माकले पर्यटकको आगमनले व्यवसायमा लगानी थप गर्न आँट आएको बताए । विसं २०७२ को भूकम्पले भत्किएको होटललाई नयाँ स्वरुपमा निर्माण गरेर व्यवसायमा लगानी बढाएको बताउँदै उनले बिदा र शुक्रबारको दिन अग्रिम बुकिङ नगरे ठाउँ पाउन मुस्किल पर्ने उल्लेख गरे ।
नगरकोटका होटलदेखि डाँडाहरूबाट देखिने सूर्योदय, सूर्यास्त, सगरमाथा र हिमाली दृश्यहरूले पर्यटकको मन आनन्दित बनाउने बताउँदै उनले आन्तरिक पर्यटक एक रात बसेर जाने र बाह्य पर्यटकहरू तीन-चार दिनसम्म नगरकोटमा रमाउने जानकारी दिए ।
नगरप्रमुख खत्रीले भूकम्प, कोरोना र अलपत्र सडकका कारण थिलथिलो बनेको यहाँको पर्यटन व्यवसाय अहिले चलायमान बन्दै गएको बताए । सरकारले नगरकोट सडकको ठेक्का रद्द गरेलगत्तै नगरपालिकाले तीव्र गतिमा भक्तपुर-नगरकोट १४ किलोमिटर सडक कालोपत्र सम्पन्न गराएपछि पर्यटकको आगमन बढेको उनको भनाइ छ ।
