पर्यटकलाई आकर्षित गर्न गलेश्वर मन्दिरको गजुरमा लगाइयो सुनको जलप
टुरिजमफेस
म्याग्दी । दाताको सहयोगमा म्याग्दीको बेनी नगरपालिका-९ मा रहेको गलेश्वर मन्दिरको गजुरमा सुनको जलप र छानामा सुनौलो रङ लगाइएको छ । गलेश्वर निवासी बमबहादुर पुनले रु चार लाख खर्चेर मन्दिरको छानोमा गोल्डेन कलर (सुनौलो) रङ र गजुरमा सुनको जलप लगाएका हुन् ।
गलेश्वर मन्दिर विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार कोषको निर्णय र स्वीकृति लिएर पुनले रङरोगन र जलप लगाउनुभएको हो । कोषका उपाध्यक्षसमेत रहेका उनले यसअघि व्यक्तिगत लगानीमा गलेश्वर मन्दिरमा रहेको शिवजीको ज्योतिएलिङ्गमा चाँदीको मुकुटले छोपेका थिए ।
जलप लगाउन प्रयोग भएको सात ग्राम सुन खरिदमा रु एक लाख ५१ हजार, २७ लिटर सुनौलो रङ खरिद, ढुवानी र ज्यालामा रु दुई लाख ३६ हजार खर्च भएको पुनले जानकारी दिए । गलेश्वर मन्दिरको छानो पित्तल र गजुर तामाको छ । यसअघि विसं २०७७ मा कोषको रु २७ लाख आन्तरिक आम्दानीबाट र सहयोगदाता रमेश शर्माको रु पाँच लाख ५५ हजार ५५५ मा मन्दिरको छानोलाई पित्तलले छाइएको थियो । शर्माका बुवा राधाकृष्ण पराजुलीले विसं २०५५ मा रु २० लाख खर्चेर गलेश्वर मन्दिर निर्माण गरेका थिए ।
रङरोगन र सुनौलो जलप लगाएपछि गलेश्वर मन्दिर चम्किलो र आकर्षक देखिएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो ।
