पर्यटकका लागि नवलपुरका मध्यवर्ती सामुदायिक वन क्षेत्र गैँडा अवलोकनको गन्तव्य
टुरिजमफेस
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरका मध्यवर्ती सामुदायिक वनक्षेत्र गैँडा अवलोकनको गन्तव्य बन्दै गएका छन् । जिल्लाको कावासोती नगरपालिकामा अस्थित मध्यवर्ती वन क्षेत्र पछिल्लो समय गैँडा अवलोकनको प्रमुख गन्तव्य बन्दै गएका छन् ।
यहाँका नमूना, कृष्णसार, गुन्द्रही ढकाहा र शान्तिकुञ्ज मध्यवर्ती सामुदायिक वन गैँडा अवलोकनका लागि प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको नमूना मध्यवर्ती सामुदायिक वनका अध्यक्ष राजकुमार गुरुङले बनाए ।
जिल्लाको पर्यटकीय क्षेत्रका रूपमा परिचित अमलटारी र पिठौलीसँगै जोडिएका चार वटा मध्यवर्ती सामुदायिक वन गैँडा अवलोकनको उत्कृष्ट गन्तव्यका रूपमा विकास हुँदै गएको अध्यक्ष गुरुङले बताए । गैँडासहितका वन्यजन्तुको सहज अवलोकनका लागि नमूना मध्यवर्ती सामुदायिक वन क्षेत्रभित्र एक सय ७२ हेक्टर क्षेत्रफलको घाँसे मैदानसमेत निर्माण गरिएको वनका अध्यक्ष गुरुङले बताए ।
वनले हालै सौर्य ऊर्जाबाट स्वचालित बोरिङ राखेर वन्यजन्तुका लागि पानीको प्रबन्ध गरिएको अध्यक्ष गुरुङले बताए । नवलपरासी पूर्व नवलपुरको अमलटारी क्षेत्रमा रहेका सामुदायिक वनमा सहजै गैँडा अवलोकन गर्न सकिने भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको चाँप बढ्दै गएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अन्तर्गत पर्ने यहाँका सामुदायिक वनमा सहजै गैँडा अवलोकन गर्न सकिने हुँदा यहाँ पर्यटकको चाँप बढेको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नरबहादुर महतोले बताए । सामुदायिक वनमा घाँसे मैदानको व्यवस्थापन, सिमसार क्षेत्रको संरक्षण जस्ता कार्यले वन्यजन्तुको सङ्ख्या बढेको वनका अध्यक्ष महतोले बताए ।
यहाँ मुख्यगरी गैँडा, मृग, मयुर लगायतको अवलोकन सहजै रूपमा गर्न सकिने उहाँको भनाइ छ । गर्मी मौसममा यहाँका सिमसार क्षेत्रमा सहजै गैँडा अवलोकन गर्न सकिन्छ । यहाँ रहेका चार वटा सामुदायिक वन क्षेत्रमा करिब ४२ वटा गैँडा रहेको अध्यक्ष महतोले बताए । पछिल्लो गैँडा गणनामा यस क्षेत्रमा यो सङ्ख्यामा गैँडा भेटिएको उनको भनाइ छ ।
अमलटारी (होमस्ट) घरबाससहित थारू रहनसहन र संस्कृति अवलोकन गर्न पाइने यहाँ, अहिले वन्यजन्तु अवलोकनको गन्तव्य बनेको छ । जिल्लाभित्र र जिल्ला बाहिरका पर्यटक दैनिकजसो गैँडा अवलोकनका लागि जङ्गल सफारी गर्न आउने गरेको अध्यक्ष महतोले बताए ।
