पर्यटकीय उल्लेरी-घोडेपानी सडकखण्डमा मोटरेवल कल्भर्ट पुल निर्माण सुरु
टुरिजमफेस
कास्की । अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको महत्त्वपूर्ण विश्वप्रख्यात पर्यटकीय गन्तव्य घोडेपानी जाने प्रमुख सडकमार्ग विरठाँटी–तीखेढुङ्गा–उल्लेरी–घोडेपानी खण्डमा मोटरेवल कल्भर्ट पुल निर्माण सुरु भएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाको उल्लेरीदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय गन्तव्य घोडेपानी जोड्ने सो सडकको अन्नपूर्ण–८ मा पर्ने मताठाटीमा आज कल्भर्ट पुल निर्माण शिलान्यास गरिएको हो । कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षको योजनामा समावेश रु २६ लाख लागतमा पुल निर्माण अघि बढाएको हो ।
पुल निर्माणसँगै कास्कीको नयाँपुल विरेढाँटी हुँदै विश्वप्रख्यात घोडेपानी पुन हिल पुग्ने पर्यटक लाभान्वित हुनेछन् । बर्खाको समयमा सास्ती पाउँदै आएका स्थानीय र पर्यटकले कल्भर्ट पुल बनेसँगै वर्षभरि सहज यात्रा गर्न पाउने अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए । उनले भने, “यस सडकलाई गाउँपालिकाले महत्त्वपूर्ण पूर्वाधार परियोजनाका रूपमा लिएको छ । सङ्घ र प्रदेश सरकारको समेत लगानीमा यो सडक स्तरोन्नति भइरहेको छ । मोटरेवल कल्भर्ट पुल निर्माणलाई गाउँपालिकाले यथाशीघ्र सम्पन्न गरी बर्खायाममा हुने जोखिम तथा असुविधा न्यूनीकरण गर्ने लक्ष्य राखेको छ ।” पुल निर्माणसँगै यातायात सहजता, जीवनस्तर सुधार र जोखिम न्यूनीकरणको अपेक्षा गरिएको छ ।
महत्त्वपूर्ण पर्यटकीय गन्तव्यमा बन्ने पुलले पर्यटक आगमन वृद्धिका साथै पर्यटकलाई थप सुविधा पुग्ने अपेक्षा गरिएको अध्यक्ष केसीले बताए। यो सडकलाई धार्मिक सडक ‘मुक्ति मार्ग’को रूपमा समेत लिइएको छ । विगतमा पोखरा–बागलुङ राजमार्ग नबन्दा यही मार्ग हुँदै मुस्ताङ आवतजावत हुने गरेको थियो । यसलाई धार्मिक सडकका रूपमा पोखरा–मुस्ताङ जोड्ने वैकल्पिक सडकको रूपमा समेत हेरिएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले बताए ।
