पर्यटकका लागि बेनीको तोरीपानीमा खुल्यो ‘होमस्टे’
टुरिजमफेस
म्याग्दी । बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास (होमस्टे) सञ्चालन भएको छ ।
पाँचवटा घरमा एक दिनमा २१ जना बास बस्न सक्ने क्षमताको घरबास सञ्चालन भएको हो । जुना खत्री, रश्मी चोखाल, सुजना चोखाल, युव गिरी र जमुना क्षेष्ठको घरमा होमस्टे सुरु भएको समूहका अध्यक्ष सीता खत्रीले जानकारी दिए ।
“गाउँमा आउने पाहुनालाई पारिवारिक वातावरणमा बसोबासको व्यवस्था मिलाउने उद्देश्यले घरबास सुरु गरेका हौँ”, उनले भने, “पर्यटकको चाप बढेपछि थप घरहरूमा पनि होमस्टे सञ्चालन गर्ने योजना छ ।”
पाहुना राख्नका लागि होमस्टे सञ्चालकले घरमा छुट्टै कोठा बनाएका छन् । खाट, बेड, विस्तार र शौचालयलाई व्यवस्थित गरेका छन् । एउटा घरमा एकदेखि दुईवटा कोठामा पाहुनाका लागि व्यवस्था गरिएको छ । घरका कोठाबाटै हिमाल देख्न सकिन्छ ।
तोरीपानी प्रकृति र संस्कृतिका साथै जैविक विविधता र ऐतिहासिक हिसाबले पनि महत्त्वपूर्ण छ । विभिन्न जातजातिको मिश्रित बसोबास छ । उनीहरूको संस्कार, रहनसहन र ग्रामीण जीवनशैलीमा रमाउन सकिन्छ ।
पाहुनालाई स्थानीय गौरीया गुडुरा जातको धानको भात, कोदो र फापरको पीठोको ढिडो तथा रोटी, टिमुरको चटनी, लोकल कुखुरा, खसीको मासु, दूध, दहीका परिकारको स्वाद चखाइने होमस्टे सञ्चालक युव गिरीले बताए ।
