यो वर्ष काभ्रेमा सुन्तला उत्पादन बढ्यो
टुरिजमफेस
काभ्रेपलाञ्चोक । यसवर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादनमा १० देखि १५ प्रतिशतसम्म बढ्नसक्ने प्रक्षेपण गरिएको छ । गत वर्ष भने बाढीपहिरोका कारण जिल्लाको सुन्तला उत्पादनमा करिब सात प्रतिशतले गिरावट भएको थियो ।
जिल्ला कृषि विकास कार्यालयले गत वर्षका गिरावटलाई उकास्दै केही प्रतिशत बढ्ने जनाएको हो । कार्यालयले सुन्तला पकेट क्षेत्रमा उत्पादनको लगत लिइरहेको कार्यालय प्रमुख कुलप्रसाद दवाडीले बताए । उनका अनुसार प्रारम्भिक लगतका हिसाबले गत वर्षकोभन्दा १० देखि १५ प्रतिशतसम्म सुन्तला उत्पादन बढ्नसक्ने प्रक्षेपण गरिएको छ ।
“सुन्तलाखेती प्रवर्द्धनका लागि स्थानीय तहको पनि सहयोगले गर्दा यस वर्ष उत्पादन बढ्ने देखिएको हो”, दवाडीले भने । बेथानचोकका अधिकांश बगैँचामा पुराना बोट भएकाले सुन्तला उत्पादन केही घटेको उनको भनाइ छ । जिल्लामा अघिल्ला वर्षमा विविध कारण दुई प्रतिशतले गिरावट हुँदै आएको सुन्तला उत्पादन गत वर्ष बाढीपहिरोका कारण बगैँचामा क्षति पु¥याउँदा सात प्रतिशतले गिरावट भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लामा २०८१ मा सात हजार ५०० मेट्रिकटन सुन्तला उत्पादन हुने प्रक्षेपण गरिए पनि बाढीपहिरोका कारण बगैंचामा क्षति पु¥याउँदा ५०० मेट्रिकटन गिरावट भएको हो । जिल्लाको कूल क्षेत्रफलमध्ये करिब एक हजार ३०० हेक्टर अर्थात् करिब ३० हजार रोपनी क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको छ । यस वर्ष भने करिब आठ हजार मेट्रिकटन सुन्तला उत्पादन हुने जनाइएको हो ।
गत वर्ष विभिन्न स्थानमा सञ्चालन गरिएको सुन्तला सुधार कार्यक्रमले सुन्तला राम्रो फल्नेमा विश्वस्त रहेको दवाडीले बताए ।
अघिल्ला वर्षमा भने रोगकिराका कारण लगातार सुन्तला उत्पादनमा दुई प्रतिशतको हाराहारीमा गिरावट हुँदै आएको कार्यालयको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार केही वर्षअघिसम्म जिल्लामा वार्षिक रु ४० करोडभन्दा बढी सुन्तला बिक्रीबाट भित्रने गर्दथ्यो ।
सुन्तला उत्पादनका लागि जिल्लाको पनौती नगरपालिका, धुलिखेल नगरपालिका, नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकालाई विशेष पकेट क्षेत्रको मानिने गरिन्छ । जिल्लामा सुन्तला जोगाउन किसान जागरण अभियान तथा सुन्तला सुधार कार्यक्रमले सुन्तला उत्पादन बढाइने लक्ष्य लिइएको थियो ।
