सुन्तलाको उत्पादन बढेपछि पूर्वी पहाडका किसान उत्साहित, सस्तोमा बेच्न बाध्य भएको बागलुङका किसानको गुनासो
टुरिजमफेस
सुनसरी । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन् ।
धनकुटाको खोकु, छिन्ताङ, बुधुक, भोजपुर, सङ्खुवासभा पाँचथरलगायत पूर्वी पहाडी जिल्लाबाट किसानले उत्पादन गरेका सुन्तला धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा बिक्रीका लागि ल्याइरहेका छन् ।
धरान कृषि बजारमा गत वर्षको तुलनामा यस वर्ष कात्तिक, मङ्सिरमै करिब २५ प्रतिशत बढी सुन्तला भित्रिएको धरान कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईले जानकारी दिए। अध्यक्ष भट्टराईका अनुसार यस वर्ष सुन्तलाको कारोबारमा पनि ३० प्रतिशतले वृद्धि भएको छ । अहिले सुन्तलाको बिक्री राम्रो भइरहेकाले यो किसान र उपभोक्ता दुवैका लागि सकारात्मक पक्ष भएके उनले बताए ।
पछिल्लो समय सुन्तलाखेतीको क्षेत्र बढेका कारण पनि कारोबार बढेको उनको भनाइ छ । कात्तिक १५ गतेदेखि सुन्तला बजारमा आउन सुरु भई चैतको दोस्रो सातासम्म सुन्तला आउने गरेको उनले जानकारी दिए । “ढुवानी व्यवस्थित गर्न, ग्रेडिङ, प्याकेजिङ तथा ब्रान्डिङ गर्नसके कोशी करिडोरको सुन्तला स्वादिलो र मीठो हुने भएकाले बजार विस्तार अझ प्रभावकारी हुन्थ्यो”, उनले भने ।
भोजपुरका किसान प्रदीप राई भन्छन्, “प्रत्येक वर्ष २० देखि ३० मेट्रिक टन सुन्तला बिक्री गर्दै आएकामा गत वर्ष १६ मेट्रिक टनमात्र सुन्तला फल्यो तर यो वर्ष भने दुई महिनाको अवधिमै १२ मेट्रिक टन बढी सुन्तला बिक्री भइसकेको छ । यो वर्ष उत्पादन राम्रो छ, मूल्य यथावत रहे पनि उत्पादन वृद्धि भएकाले आम्दानी राम्रै हुने अपेक्षा छ । उनले विगत १३ वर्षदेखि सुन्तला व्यवसाय गर्दै आएको बताए ।
अर्का व्यापारी अशोक राईका अनुसार यस वर्ष फल लाग्ने समयमा मौसम अनुकूल रहेकाले उत्पादनमा उल्लेख्य वृद्धि भएको हो । वर्षा भए पनि खासै क्षति भएन, रोग, कीरा पनि कमै लाग्यो । उनले भने, “पछिल्लो समय किसानले मकै र धानखेती हुने खेतबारीमा पनि सुन्तलाखेती विस्तार गर्न थालेका छन् । सुन्तलाबाट राम्रो आम्दानी हुने भएपछि किसान सुन्तलाखेतीप्रति बढी आकर्षित हुन थालेका हुन् ।” पछिल्ला चार वर्षदेखि मूल्य भने यथावत नै छ । अहिले सुन्तला आकार हेरेर प्रतिकिलो रु ३० देखि ८० सम्ममा बिक्री भइरहेको उनले जानकारी दिए ।
विगत २२ वर्षदेखि धरान कृषि बजारमा व्यवसाय गर्दै आउनुभएका व्यापारी टीकाराम श्रेष्ठले वार्षिक करिब १२ सय क्विन्टलभन्दा बढी सुन्तला बिक्री गर्दै आएको बताए । उनका अनुसार दमक, काकरभिट्टा, झापादेखि पश्चिमी क्षेत्रमा सुन्तला पठाइने गरेको छ । सुन्तला एक वर्ष धेरै फल्ने र अर्को वर्ष कम फल्ने भएकाले यस वर्ष उत्पादन बढेको हो ।
कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष काजी गिरीका अनुसार गत वर्षको तुलनामा यस वर्ष धरान कृषि बजारमा सुन्तला प्रशस्त मात्रामा आएको छ । किसान र व्यापारीले ल्याएको सुन्तला सहज रूपमा बिक्री भइरहेको छ, जति आउँछ सबै खपत हुने गरेको उनले बताए ।
बागलुङका किसानका व्यथाः सुन्तला सस्तोमा बेच्न बाध्य
बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू बताउँछन् ।
बागलुङको काठेखोला, बागलुङ नगरपालिका, जैमिनी र गलकोट क्षेत्रमा सुन्तला उत्पादनका हिसाबले प्रसिद्ध छन् । शहरी क्षेत्रमा प्रतिकिलो रु १२० भन्दा बढी पर्ने सुन्तलालाई व्यापारीले गाउँबाट रु ४०÷५० मै ल्याउने गरेको बागलुङ नगरपालिका–८ सिगानाका किसान टोबहादुर खड्काले बताए । व्यापारीका कारण किसान र उपभोत्ता मारमा परेको उनको भनाइ छ ।
किसानले उत्पादन गरेको सुन्तलालाई सही रूपमा बजारीकरण गर्ने वातावरण तयार नगर्दा किसान र उपभोक्ता मारमा पर्ने गरेको खड्का बताउँछन् । आफूले हरेक वर्ष लाखौँको सुन्तला उत्पादन गर्दै आएको उनले बताए । किसानले नै उत्पादन बजारीकरण गर्न सक्ने वातावरण अझै तयार हुन नसकेको खड्का बताउँछन् ।
उनले भने, “सिगानामा सुन्तला धेरै नै उत्पादन हुन्छ, उत्पादनअनुसारको मूल्य पाउन सकिन्थ्यो भने यस क्षेत्रका किसानको जीवनस्तर माथि उठ्नेमा कुनै शङ्का छैन, तर मूल्य नै पाउन सकेका छैनौँ, साउन, भदौमा गाउँमा आएर व्यापारीले सुन्तलाको बगान नै किन्छन्, हामीले प्रतिकिलो रु ४०÷५० भन्दा बढी पाउने अवस्था छैन, बजारमा किन्ने उपभोक्ताले बढी मूल्य तिर्छन् ।”
अर्का किसान हरिप्रसाद कँडेलले व्यापारीका कारण किसान र उपभोक्ता बढी मारमा परेको बताए । किसानबाट खरिद गरेको सुन्तलाको मूल्य बजारमा पुर्याएर अस्वाभाविक नाफा लिने गरेको उनको भनाइ छ । किसानबाट प्रतिकिलो सुन्तला रु ८० मा खरिद गरेर बजारमा रु १०० मा बिक्री गर्दा किसान र उपभोक्ता मारमा नपर्ने उनी बताउँछन् ।
कृषि विकास कार्यालयका अनुसार गत वर्ष बागलुङमा रु २६ करोड ४६ लाख ५४ हजार सुन्तला उत्पादन भएको थियो । गत वर्ष चार हजार ७१.६ मेट्रिक टन सुन्तला फलेको थियो । यस वर्ष किसानले बल्ल सुन्तला टिप्न थालेको हुँदा तथ्याङ्क आउन बाँकी छ ।
