हवाई भाडामा कर र नीतिगत झन्झटले पर्यटन थलिँदै
काठमाडौं । हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट), विदेशी मुद्रा सटहीको सीमा र जटिल भिसा–अनुमति प्रक्रियाका कारण नेपालको पर्यटन उद्योग बढ्दो दबाबमा परेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले औँल्याएको छ। यी नीतिगत अवरोधले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रतिस्पर्धी गन्तव्यका रूपमा कमजोर बनाइरहेको संगठनको ठहर छ।
नाट्टाको ५८औँ वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार हवाई टिकटमा भ्याट कायम रहँदा यात्रु लागत बढ्नुका साथै टुर प्याकेज महँगो बन्न पुगेको छ। यसले छिमेकी तथा समान प्रकृतिका गन्तव्यसँग प्रतिस्पर्धा गर्न नेपाललाई थप कठिन बनाएको महासचिव युविका भण्डारीले बताइन्। भ्याट खारेजीको माग गर्दै नाट्टाले सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुका साथै अर्थ मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग निरन्तर छलफल गरिरहेको जनाएको छ।
विदेशी मुद्रा सटहीको सीमा पर्यटन व्यवसायका लागि अर्को बाधा बनेको नाट्टाको भनाइ छ। पछिल्लो समय सीमा केही बढाइए पनि अन्तर्राष्ट्रिय अभ्यासअनुसार अझ सहज र व्यवसायमैत्री व्यवस्था आवश्यक रहेको संगठनले जोड दिएको छ। भिसा र अनुमति प्रक्रियामा देखिने ढिलाइले विशेषगरी कैलाश–मानसरोवरजस्ता धार्मिक तथा अन्तरदेशीय यात्रामा प्रत्यक्ष असर परेको नाट्टाले उल्लेख गरेको छ।
प्रतिवेदनमा काठमाडौंमा पर्यटक लक्षित बस टर्मिनल नहुनु पनि गम्भीर समस्या भनेर औँल्याइएको छ। अव्यवस्थित पिकअप र ड्रप प्रणालीका कारण पर्यटकको पहिलो अनुभव नै नकारात्मक बन्ने जोखिम बढेको भन्दै राजधानी बाहिर उपयुक्त स्थानमा आधुनिक पर्यटकीय बस टर्मिनल निर्माण गर्न सरकारसँग माग गरिएको छ।
यद्यपि, नयाँ पर्यटन नीति निर्माण प्रक्रियामा नाट्टाका सुझाव समेटिनु, सीटीईभीटीमा संगठनको प्रतिनिधित्व सुनिश्चित हुनु र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा कूटनीतिक समन्वय बढ्नु सकारात्मक उपलब्धि भएको प्रतिवेदनमा उल्लेख छ।
