कांग्रेसमा नयाँ मोड : गगन–विश्वको विशेष महाधिवेशन घोषणा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीभित्र पहिलोपटक औपचारिक रूपमा विशेष महाधिवेशनको आह्वान गरेका छन्।
बुधबार जारी गरिएको संयुक्त वक्तव्यमा उनीहरूले पार्टी विधानको कार्यान्वयन र संगठनलाई पुनर्जीवित बनाउने उद्देश्यसहित विशेष केन्द्रीय महाधिवेशनमा सहभागी हुन पार्टी पंक्तिलाई आह्वान गरेका हुन्।
वक्तव्यमा उल्लेख गरिएअनुसार कांग्रेस विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशन माग गर्दै २ हजार ४ सय ८८ जना, अर्थात् ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन्। बदलिँदो राजनीतिक परिवेशमा पार्टीलाई सुदृढ बनाउने र जनअपेक्षाअनुकूल नीति तथा निर्णय लिन विशेष महाधिवेशन अपरिहार्य भएको उनीहरूको निष्कर्ष छ।
महामन्त्रीद्वयले विशेष महाधिवेशनका लागि निवेदन पेस भएको तीन महिनाभित्र केन्द्रीय कार्यसमितिले महाधिवेशन आयोजना गर्नुपर्ने दायित्व रहेको भए पनि त्यो पूरा हुन नसकेको बताएका छन्। ‘केन्द्रीय कार्यसमितिबाटै विशेष महाधिवेशन बोलाउने प्रयास गर्यौँ, तर त्यो सम्भव भएन,’ वक्तव्यमा उल्लेख छ।
उनीहरूले विधानले विधिवत् माग गरिएको विशेष महाधिवेशनलाई बेवास्ता गर्ने वा अस्वीकार गर्ने अधिकार कसैलाई नदिएको स्पष्ट पारेका छन्। विधानअनुसार आवश्यक हस्ताक्षरसहित माग गरिएको अवस्थामा विशेष महाधिवेशन स्वतः क्रियाशील हुने र तोकिएको समयसीमाभित्र सम्पन्न हुनुपर्ने उनीहरूको तर्क छ।
बहुमत महाधिवेशन प्रतिनिधिले अघि सारेको विशेष महाधिवेशनको मागप्रति आफ्नो पूर्ण समर्थन रहेको जनाउँदै महामन्त्रीद्वयले पौष २७ र २८ गतेका लागि तय गरिएको विशेष महाधिवेशन कानूनी र राजनीतिक दुवै दृष्टिले अपरिहार्य र बाध्यकारी भइसकेको दाबी गरेका छन्।
यस घोषणासँगै नेपाली कांग्रेसभित्र आन्तरिक राजनीतिक बहस र गतिविधि थप चर्किने संकेत देखिएको छ।
