पर्यटनसँग जोडिएका बस्तीमा गरिबी दर सर्वाधिक न्यून
काठमाडौं । नेपालमा गरिबीको दर घट्दै गएको सरकारी दाबीबीच सार्वजनिक भएका पछिल्ला तथ्यांकले फरक यथार्थ उजागर गरेका छन्। राष्ट्रिय तथ्यांक कार्यालयको लघुक्षेत्र अनुमानअनुसार देशका आधाभन्दा बढी स्थानीय तहमा गरिबी दर अझै पनि राष्ट्रिय औसतभन्दा माथि छ। यसले समग्र सुधारभन्दा पनि असमान विकासको चित्र प्रस्ट पारेको छ।
राष्ट्रिय औसत गरिबी दर २०.२७ प्रतिशत रहेको अवस्थामा ७ सय ५३ स्थानीय तहमध्ये ४ सय ४४ वटामा यो औसत नाघेको छ। यसको अर्थ—नेपालका अधिकांश भूगोलमा विकासको लाभ समान रूपमा पुगेको छैन।
पर्यटनसँग जोडिएको घरपझोङमा सर्वाधिक न्यून गरिबी
ताजा तथ्यांक अनुसार मुस्ताङको घरपझोङ गाउँपालिका सर्वाधिक न्यून गरिबी दर रहेको बस्ती हुन पुगेको छ । यसको मुख्य कारण यो बस्ती पर्यटकीय रूपमा रहँदै आएको छ। घरपझोङ पर्यटन, पूर्वाधार र वैकल्पिक आय स्रोतसँग जोडिएको छ । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा भने देशमै सर्वाधिक ७७.८९ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् । मुस्ताङको घरपझोङ गाउँपालिकामा यो दर १.१८ प्रतिशत मात्र छन् ।
संख्या घट्यो, खाडल बढ्यो
नेपाल जीवनस्तर सर्वेक्षण २०८०/८१ ले गरिबीको रेखा वार्षिक प्रतिव्यक्ति ७२ हजार ९ सय ८ रुपैयाँमा तोकेको छ। यो अघिल्लो मापदण्डभन्दा धेरै माथि भए पनि ग्रामीण तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने समुदायका लागि अझै चुनौतीपूर्ण छ।
विशेषगरी कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूगोलमा गरिबीको दर अत्यधिक देखिनु त्यहाँको कमजोर पूर्वाधार, सीमित रोजगारी, शिक्षा र स्वास्थ्य सेवाको पहुँचसँग जोडिएको देखिन्छ।
शहरमा प्रतिशत कम, संख्या धेरै
काठमाडौं महानगरपालिकामा गरिबीको प्रतिशत ६.८७ मात्र भए पनि गरिबको संख्या ५९ हजारभन्दा बढी हुनु अर्को गम्भीर पक्ष हो। यसले शहरी गरिबी, अनौपचारिक श्रम, महँगो जीवनयापन र बसोबासको समस्या झन् जटिल बन्दै गएको संकेत गर्छ।
नीति कहाँ चुक्दैछ ?
विश्लेषकहरूका अनुसार गरिबी निवारणका कार्यक्रम अझै पनि संख्या घटाउने लक्ष्यमा सीमित छन्। तर, तथ्यांकले देखाएको असमानता घटाउन स्थानीय तहअनुसार फरक नीति, बजेट र कार्यक्रम आवश्यक देखिन्छ।
यो प्रतिवेदनले अबको बहस गरिबी कति घट्यो भन्ने होइन, गरिबी कहाँ र किन जकडिएको छ भन्ने प्रश्नमा केन्द्रित हुनुपर्ने संकेत गरेको छ।
मुख्य तथ्य
राष्ट्रिय औसत गरिबी दर : २०.२७ %
-
औसतभन्दा माथि गरिबी भएका स्थानीय तह : ४४४
-
औसतभन्दा कम गरिबी भएका स्थानीय तह : ३०९
-
गरिबी दरको दायरा : १.१८ % देखि ७७.८९ % सम्म
शहरी–ग्रामीण तुलना
| क्षेत्र | गरिबी दर |
|---|---|
| शहरी | १८.३४ % |
| ग्रामीण | २४.६६ % |
ग्रामीण क्षेत्रमा गरिबी दर शहरीभन्दा करिब ६ प्रतिशत अंकले बढी देखिएको छ।
सबैभन्दा बढी र कम गरिबी
-
सबैभन्दा बढी गरिबी :
-
जुनीचाँदे गाउँपालिका (जाजरकोट) – ७७.८९ %
-
-
सबैभन्दा कम गरिबी :
-
घरपझोङ गाउँपालिका (मुस्ताङ) – १.१८ %
-
जिल्लागत अवस्था
-
सबैभन्दा बढी गरिबी भएको जिल्ला : अछाम (४९.५८ %)
-
सबैभन्दा कम गरिबी भएको जिल्ला : कास्की (५.६३ %)
-
राष्ट्रिय औसतभन्दा माथि गरिबी भएका जिल्ला : ४३
-
राष्ट्रिय औसतभन्दा कम गरिबी भएका जिल्ला : ३४
काठमाडौंको फरक चित्र
-
गरिबी दर : ६.८७ %
-
गरिबको संख्या : ५९,२१८
