माघीको रौनकसँगै थारू बस्तीमा ढिक्रीको सुगन्ध
दाङ । माघी नजिकिँदै गर्दा दाङका थारू बस्तीहरूमा बिहानैदेखि चुल्हो बल्न थालेका छन् । चामलको पीठो मुछ्ने, आकार दिने र बाफमा उसिन्ने कामले घर–घरमा बेग्लै चहलपहल छ । तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले फुर्सद निकाल्न गाह्रो छ । माघीको तयारीका लागि ढिक्री बनाउने काममै उनका दिन बितिरहेका छन् । यही व्यस्तता तुलसीपुर–१० बनकाउकी विझौनी थारूको घरमा पनि देखिन्छ ।
माघी थारू समुदायको सबैभन्दा ठूलो चाड भएकाले ढिक्री अनिवार्य परिकार मानिन्छ । परिवार, आफन्त र पाहुनालाई सत्कार गर्ने मुख्य आधार नै ढिक्री हो । सुँगुरको मासु, माछा, घोंगीलगायत परिकारसँग ढिक्री खानु थारू संस्कृतिको पहिचान बनेको छ ।
ढिक्री केवल खाना मात्र होइन, संस्कार पनि हो । चाडपर्व अनुसार यसको रूप बदलिन्छ । माघीमा लाम्चो आकार दिइने ढिक्री दसैंमा गोलो हुन्छ । तिहारमा भने दियोजस्तै चेप्टो बनाइन्छ । चामलको पीठोलाई राम्ररी मुछेर मनपर्ने आकार दिएपछि करिब आधा घण्टा बाफमा उसिनाइन्छ ।
तेल, घिउ वा चिनी प्रयोग नहुने भएकाले ढिक्री स्वास्थ्यका दृष्टिले पनि हल्का र सुरक्षित मानिन्छ । थारू समुदायमा ढिक्री नियमित रूपमा खाए आयु बढ्छ भन्ने पुरानो विश्वास अझै जीवित छ ।
यसरी माघीको आगमनसँगै थारू बस्तीमा ढिक्री बनाउने चटारोले संस्कृति, स्वाद र परम्परालाई एकसाथ जोडेर राखेको छ ।
