काठमाडौं । राजधानीको भीडभाडबाट केही दूरीमा, शान्त वातावरण र हरियालीको खोजी गर्नेहरूका लागि ललितपुरको गोदावरीमा नयाँ चारतारे होटल सञ्चालनमा आएको छ । करिब १ अर्ब ९५ करोड रुपैयाँ लगानीमा तयार भएको गोदावरी फरेस्ट होटलले उपत्यकाको आतिथ्य उद्योगमा नयाँ आयाम थपेको छ ।
नौं रोपनी क्षेत्रफलमा फैलिएको १० तले यो होटल प्रकृतिसँग नजिक रहेर आराम र विश्रामको अनुभव दिन डिजाइन गरिएको छ । अन्तर्राष्ट्रिय होटल चेन बेस्ट वेस्टर्न प्लसको व्यवस्थापनमा सञ्चालित होटलमा ८३ वटा आधुनिक कोठा, दुई रेस्टुरेन्ट, तीनवटा मिटिङ हल, ३०० जनासम्म अट्ने कार्यक्रम हल र इन्फिनिटी स्विमिङ पुल छन् ।
शहर नजिकै भए पनि रिसोर्टजस्तो अनुभूति दिने उद्देश्यसहित खुलेको होटलले विशेष गरी बैठक, सम्मेलन, पारिवारिक बिदा र आन्तरिक पर्यटकलाई लक्षित गरेको छ । स्वच्छ हावा, हरियाली डाँडाकाँडा र शान्त वातावरण यसको मुख्य आकर्षण हुन् ।
होटल सञ्चालनसँगै करिब ७० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । लगानीकर्ताहरूले यसले गोदावरी क्षेत्रको पर्यटन प्रवर्द्धन मात्र होइन, स्थानीय अर्थतन्त्र सुदृढ गर्नसमेत योगदान गर्ने अपेक्षा गरेका छन् ।
गोदावरी फरेस्ट होटल प्रालिको स्वामित्वमा रहेको यस होटलका प्रमुख सञ्चालक युवराज श्रेष्ठ हुन् । होटल संघ नेपाल (हान)का कोषाध्यक्षसमेत रहेका श्रेष्ठ यसअघि चितवनको मेघौलीमा सोल्टी वेस्टएन्ड रिसोर्ट तथा काठमाडौंका विभिन्न स्थानमा बजेट र स्तरीय होटल सञ्चालन गर्दै आएका छन् ।