वन जोगाउँदै हरित पर्यटनतर्फ नेपाल, कार्बन व्यापारबाट नयाँ सम्भावना
काठमाडौँ । हिमाल, पहाड र तराईको हरियाली अब केवल प्राकृतिक सौन्दर्यको पहिचान मात्र होइन, नेपालका लागि हरित पर्यटन र दिगो आम्दानीको नयाँ आधार बन्न थालेको छ। नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा व्यावसायिक रूपमा कार्बन क्रेडिट बिक्री गर्ने सम्झौता गर्दै वन संरक्षणलाई पर्यटन अर्थतन्त्रसँग जोड्ने नयाँ बाटो खोलेको छ।
नेपाल सरकार र अमेरिकी गैरनाफामूलक संस्था इमर्जेन्ट फरेस्ट फाइनान्स एक्सिलिरेटर बीच हुने यस सम्झौताबाट नेपालले करिब ८ अर्ब रुपैयाँ आम्दानी गर्नेछ। यो आम्दानी वन संरक्षण, स्थानीय समुदायको सशक्तीकरण र दिगो विकासमा खर्च गरिने जनाइएको छ, जसको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा देखिने अपेक्षा गरिएको छ।
वन मन्त्रालय स्रोतका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका वन क्षेत्र जोगाएर प्राप्त हुने कार्बन क्रेडिट अन्तर्राष्ट्रिय बजारमा बिक्री गरिनेछ। यी प्रदेशहरू नै नेपालका प्रमुख प्राकृतिक र इको–टुरिज्म गन्तव्य समेत हुन्। वन जोगिँदा जैविक विविधता, वन्यजन्तु अवलोकन, पदयात्रा र ग्रामीण पर्यटन थप आकर्षक बन्ने पर्यटन व्यवसायीहरू बताउँछन्।
सम्झौता अनुसार नेपालले सुरुमा १० लाख कार्बन क्रेडिट बिक्री गर्नेछ भने भविष्यमा थप ३० लाख क्रेडिट बिक्री गर्ने विकल्प पनि खुला रहनेछ। यसरी कुल ४० लाख टन कार्बन उत्सर्जन कटौती अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सकिनेछ। प्रतिक्रेडिट १० देखि २५ अमेरिकी डलरसम्म मूल्य पाउने व्यवस्था गरिएको छ।
पर्यटन विज्ञहरूका अनुसार यो सम्झौताले नेपाललाई ‘हरित गन्तव्य’ (Green Destination) को रूपमा अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्न सहयोग पुर्याउनेछ। “वन संरक्षणबाट आम्दानी हुने भएपछि स्थानीय समुदाय पर्यटनमैत्री बन्नेछन्, होमस्टे, इको–लज र प्रकृतिमा आधारित पर्यटनको दायरा विस्तार हुन्छ,” एक पर्यटन व्यवसायी भन्छन्।
कार्बन बिक्रीबाट प्राप्त रकम उच्च गुणस्तरको अन्तर्राष्ट्रिय मापदण्डअनुसार खर्च गर्नुपर्नेछ। यसले पदमार्ग सुधार, वन क्षेत्रको पुनर्स्थापना, स्थानीय गाइड तालिम, तथा सामुदायिक पर्यटन प्रवर्द्धनमा लगानी बढ्ने अपेक्षा गरिएको छ।
नेपालले सन् २०५० सम्म ‘नेट–जिरो’ उत्सर्जन र २०३० सम्म ४५ प्रतिशत वन क्षेत्र कायम राख्ने लक्ष्य लिएको छ। इमर्जेन्टसँगको यो सम्झौताले यी जलवायु लक्ष्य पूरा गर्न मात्र होइन, दिगो पर्यटन अर्थतन्त्र निर्माणमा समेत टेवा पुर्याउने विश्वास गरिएको छ।
वन जोगाएर आम्दानी गर्ने यो अभ्यास सफल भए नेपालले हिमाल, जंगल र जैविक विविधतालाई केन्द्रमा राखेर पर्यटन र वातावरण संरक्षणलाई एउटै सूत्रमा गाँस्ने उदाहरणीय मोडल प्रस्तुत गर्नेछ।
