बुढासुब्बा गोल्डकप: खेलसँगै धरानको पर्यटन ब्रान्ड, युवा प्रतिभाका लागि सुनौलो मञ्च
संगीता राई
धरान (सुनसरी) । बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही दिन मात्र बाँकी रहँदा धरान खेलकुद मात्र होइन, पर्यटन चहलपहलले पनि तातिन थालेको छ। प्रत्येक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगिताले फुटबल प्रवर्द्धनसँगै धरानलाई आन्तरिक खेल–पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्दै आएको छ।
बुढासुब्बा गोल्डकप सुरु हुने समयसँगै धरानका होटल, रेष्टुरेन्ट, यातायात सेवा, बजार तथा पर्यटकीय स्थलहरूमा चाप बढ्ने गरेको स्थानीय व्यवसायीहरूको अनुभव छ। प्रतियोगिता हेर्न प्रदेशका विभिन्न जिल्ला तथा देशका अन्य भागबाट दर्शक धरान आउने भएकाले सहरको आर्थिक गतिविधि चलायमान हुने गरेको छ।
धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार बुढासुब्बा गोल्डकपले धरानलाई ‘खेलकुदको सहर’का रूपमा चिनाउन मात्रै होइन, पर्यटन सहरका रूपमा उभ्याउन पनि ठूलो भूमिका खेलेको छ।
‘नेपालका प्रतिष्ठित क्लबसँगै अन्तर्राष्ट्रिय टिमहरू धरान आउँदा सहर आफैंमा एउटा गन्तव्य बन्छ,’ उनले भने, ‘यसले खेल पर्यटनलाई मजबुत बनाएको छ।’
यस वर्ष माघ २२ गतेदेखि सुरु हुने २६औँ संस्करणको बुढासुब्बा गोल्डकपमा १० टिम सहभागी हुनेछन्। अघिल्ला वर्षहरूमा आठ टिममा सीमित रहेको प्रतियोगिता यसपटक विस्तार हुँदा दर्शक संख्या र पर्यटक आवागमन बढ्ने अपेक्षा गरिएको छ।
कोरोना महामारीका कारण दुई वर्ष रोकिएको प्रतियोगिता त्यसयता निरन्तर सञ्चालन हुँदै आएको छ। यस निरन्तरताले धरानलाई वर्षेनी हुने खेलकुद उत्सवको सहरका रूपमा परिचित गराएको खेलप्रेमीहरूको भनाइ छ।
कोशी पहाडको प्रवेशद्वारका रूपमा चिनिने धरान प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, बुढासुब्बा मन्दिर, विजयपुर धाम, चारकोसे झाडी र नजिकैका पदमार्ग (हाइकिङ ट्रेल) का कारण पनि पर्यटकको रोजाइमा पर्दै आएको छ। बुढासुब्बा गोल्डकपले यिनै आकर्षणलाई खेलसँग जोडेर धरानको पर्यटन मूल्य अझै बढाएको छ।
नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके तथा कोशी क्षेत्रका पर्यटन व्यवसायीहरूका अनुसार बुढासुब्बा गोल्डकपजस्ता प्रतियोगिता ‘इभेन्ट टुरिज्म’ का उत्कृष्ट उदाहरण हुन्। खेल हेर्न आएका दर्शकहरू धार्मिक, सांस्कृतिक र प्राकृतिक स्थल अवलोकनमा समेत जाने हुँदा बहुआयामिक पर्यटन प्रवर्द्धन हुने गरेको छ।
प्रतियोगिताले धरानका युवालाई खेलकुदमा मात्रै होइन, पर्यटन सेवामा समेत रोजगारी र अवसर सिर्जना गरेको छ। होटल, स्वयंसेवक, यातायात, मिडिया, सुरक्षा तथा इभेन्ट व्यवस्थापनमा स्थानीय युवाको संलग्नता बढ्दै गएको छ।
बुढासुब्बा गोल्डकपले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल क्षेत्रमा धरानका खेलाडीलाई चिनाएको छ। आज ‘ए’ डिभिजन क्लबहरूमा धरानका खेलाडीको उपस्थिति बढ्दै गएको छ भने सयौँ युवाले फुटबललाई पेशा र भविष्यका रूपमा रोजेका छन्।
धरानका विभिन्न फुटबल एकेडेमीमा प्रशिक्षणरत युवा खेलाडीहरूका लागि बुढासुब्बा गोल्डकप ठूलो सपना र प्रेरणाको स्रोत बनेको छ। प्रतियोगितामा खेल्ने, दर्शकको अगाडि प्रदर्शन गर्ने र राष्ट्रियस्तरमा चिनिने चाहना युवामा बढ्दै गएको छ।
आयोजकका अनुसार बुढासुब्बा गोल्डकप ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचानसँग जोडिएको प्रतियोगिता हो। यसको नाम धरानको प्रमुख धार्मिकस्थल बुढासुब्बा मन्दिरसँग जोडिनुले खेल र पर्यटनबीचको सम्बन्धलाई अझ बलियो बनाएको छ।
‘बुढासुब्बा गोल्डकप आज धरानको सान र पहिचान बनेको छ,’ धरान फुटबल क्लबका महासचिव नवीन राईले भने, ‘यसले खेलकुदसँगै पर्यटन र स्थानीय अर्थतन्त्रलाई पनि समानान्तर रूपमा अघि बढाइरहेको छ।’
हरेक वर्ष करिब एक करोड रुपैयाँको लगानीमा आयोजना हुने बुढासुब्बा गोल्डकप हेर्न सुनसरीसँगै मोरङ, झापा, इलाम, धनकुटा, पाँचथर, संखुवासभालगायत जिल्लाबाट हजारौँ दर्शक धरान आउने गरेका छन्। यसले धरानलाई खेल हेर्ने मात्र होइन, बस्ने, घुम्ने र अनुभव गर्ने सहरका रूपमा विकास गरिरहेको पर्यटन व्यवसायीहरूको निष्कर्ष छ।
