दुई महिनामै ४५ हजार टनभन्दा बढी धानचामल आयात, ३ अर्ब ३७ करोड विदेशियो
काठमाडौं। नेपालको खाद्यान्न बजारमा स्वदेशी उत्पादनको हिस्सा बढाउन चुनौती कायम रहेकै बेला चालु आर्थिक वर्षको सुरुवाती दुई महिनामै विदेशबाट ४५ हजार टनभन्दा बढी धानचामल भित्रिएको छ ।
भन्सार विभागका अनुसार साउन र भदौमा नेपालले ४५ हजार ५४३ टन धानचामल तथा यससँग सम्बन्धित विभिन्न प्रकारका खाद्य वस्तु आयात गर्दा ३ अर्ब ३७ करोड ७७ लाख ७५ हजार रुपैयाँ विदेशी मुद्रा बाहिरिएको छ।
यद्यपि गत आर्थिक वर्षको यही अवधिको तुलनामा यस वर्ष आयातको परिमाण र खर्च दुवै घटेको छ। गत आव २०८२/८३ को पहिलो दुई महिनामा १ लाख ६ हजार १७ टन धानचामल आयात भएको थियो। त्यसका लागि ५ अर्ब ६१ करोड ३१ लाख १७ हजार रुपैयाँ खर्च भएको थियो।
यस आधारमा एक वर्षको अवधिमा आयात परिमाण झण्डै ६० हजार टनले घटेको छ भने आयातमा भएको खर्च पनि २ अर्ब रुपैयाँभन्दा बढीले कम भएको देखिन्छ।
सबैभन्दा धेरै सामान्य चामल
चालु आवको साउन–भदौमा आयात भएको धानचामलमध्ये सबैभन्दा ठूलो हिस्सा अन्य चामलको छ।
भन्सार तथ्यांकअनुसार १९ हजार ६३९ टन अन्य चामल आयात भएको छ। यसको कुल मूल्य १ अर्ब ३९ करोड २८ लाख ३ हजार रुपैयाँ रहेको छ।
त्यसपछि बासमती चामलको आयात धेरै छ। दुई महिनामा ८ हजार ८६८ टन बासमती चामल नेपाल भित्रिएको छ। यसका लागि १ अर्ब २१ करोड २० लाख ५ हजाररुपैयाँ खर्च भएको छ।
कच्चा धानमा पनि ठूलो निर्भरता
नेपालले उपभोगका लागि तयार चामलसँगै कच्चा धानसमेत ठूलो परिमाणमा आयात गरेको छ।
समीक्षा अवधिमा १६ हजार ४०९ टन कच्चा धान आयात भएको छ। यसको आयात मूल्य ७४ करोड ६६ लाख २२ हजार रुपैयाँ रहेको भन्सार विभागको तथ्यांक छ।
त्यस्तै, ६२५ टन कनिका २ करोड ५७ लाख ४५ हजार रुपैयाँमा आयात भएको छ।
व्यावसायिक आयातको तुलनामा निकै सानो परिमाणमा धानको बीउ र खैरो चामलसमेत नेपाल भित्रिएको छ। तथ्यांकअनुसार ६७ किलो धानको बीउका लागि ५ लाख १ हजार रुपैयाँ तथा ७७५ किलो खैरो चामलका लागि ९९ हजार रुपैयाँ खर्च भएको छ।
आयात घटे पनि राजस्वमा कमी
धानचामल आयातबाट सरकारले प्राप्त गर्ने राजस्व पनि गत वर्षको तुलनामा घटेको छ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा धान तथा चामल आयातबाट २७ करोड ४४ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन भएको छ। गत आवको सोही अवधिमा यस्तो राजस्व ४२ करोड ४ लाख ८२ हजार रुपैयाँ थियो।
यसरी चालु आवको सुरुवाती दुई महिनाको तथ्यांकले धानचामल आयातमा उल्लेख्य कमी आएको देखाए पनि नेपाली खाद्य बजार अझै ठूलो मात्रामा आयातमा निर्भर रहेको देखाउँछ। उत्पादन, उत्पादकत्व, भण्डारण र बजार व्यवस्थापनमा सुधार गर्न नसके खाद्यान्नमा बाह्य निर्भरता घटाउने चुनौती कायमै रहनेछ।
