चिसोले गोसाइँकुण्ड जम्यो, पर्यटक सुरक्षामा सतर्कता
रसुवा। उच्च हिमाली पर्यटकीय गन्तव्य गोसाइँकुण्ड क्षेत्रमा अत्यधिक चिसो बढेसँगै तालको सतह जम्न थालेपछि स्थानीय तहले पर्यटक सुरक्षालाई प्राथमिकतामा राख्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
पर्यटन तथा तीर्थयात्राका दृष्टिले वर्षभर आकर्षणको केन्द्र रहँदै आएको गोसाइँकुण्डमा यस मौसममा प्राकृतिक सौन्दर्य थप आकर्षक देखिए पनि जमेको पानीमाथि हिँडडुल गर्दा बरफ फुटेर दुर्घटना हुन सक्ने जोखिम उच्च रहेकाले सावधानी आवश्यक भएको गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार सतहमा पानी जमेको देखिए पनि भित्री भागमा गहिरो दह रहने भएकाले बरफमाथि हिँड्दा अचानक फुट्न सक्ने सम्भावना रहन्छ। यस्तो जोखिमले पर्यटक र तीर्थयात्रीको सुरक्षामा असर पार्न सक्ने भएकाले तालको किनारबाट सुरक्षित दूरी कायम गरी अवलोकन गर्न आग्रह गरिएको छ।
गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले धार्मिक तथा पर्यटकीय मर्यादा कायम राख्दै कुण्डमाथि हिँडेर जोखिमपूर्ण गतिविधि नगर्न सबैमा अनुरोध गर्नुभएको छ। “गोसाइँकुण्ड धार्मिक आस्थासँगै साहसिक र प्राकृतिक पर्यटनको महत्वपूर्ण गन्तव्य हो, त्यसैले सुरक्षित पर्यटन अभ्यास अत्यावश्यक छ,” उहाँले भन्नुभयो।
हाल पर्यटकको चहलपहल जारी रहेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि स्थानीय प्रशासन, सुरक्षाकर्मी र गाउँपालिकाले संयुक्त रूपमा निगरानी बढाएका छन्। पर्यटक तथा तीर्थयात्रीलाई स्थानीय सूचना, निर्देशन र सुरक्षा मापदण्ड पालना गर्न अनुरोध गरिएको छ।
साथै, मौसम प्रतिकूल हुँदा हिउँ परेका क्षेत्रका बाटो चिप्लो हुने भएकाले एक्लै यात्रा नगर्न, समूहमा यात्रा गर्न र आवश्यक तयारीसहित मात्र गोसाइँकुण्ड भ्रमण गर्न सुरक्षा निकायले सुझाव दिएको छ।
प्राकृतिक सौन्दर्यसँगै सुरक्षित व्यवस्थापनमा ध्यान दिँदै गोसाइँकुण्डलाई जिम्मेवार र सुरक्षित पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने स्थानीय तहको प्रयास रहेको जनाइएको छ।
