दसैँ–तिहारको मुखमा नेपाल एयरलाइन्सका दुवै वाइडबडी थन्किए, आम्दानीमा ठूलो धक्का
काठमाडौं । दसैँ–तिहारका कारण हवाई यात्रुको चाप बढ्ने समय सुरु भइसक्दा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका दुवै वाइडबडी जहाज उडानविहीन भएका छन्। लामो दूरीका अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुँदै आएका एयरबस ए–३३० जहाज सञ्चालनमा नहुँदा निगमको उडान तालिका प्रभावित भएको छ भने आम्दानीमा समेत ठूलो असर परेको छ।
निगमका अनुसार एउटा वाइडबडी जहाज जापानको नारिता विमानस्थलमा प्राविधिक समस्याका कारण रोकिएको छ। अर्को जहाज नियमित ठूलो मर्मतसम्भार अर्थात् ‘सी–चेक’ का लागि इटाली पठाइएकामा निर्धारित समयमा मर्मत सम्पन्न हुन नसक्दा उतै रहेको छ।
निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि चारवटा जहाज छन्। तीमध्ये दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी हुन्। अहिले दुवै वाइडबडी उपलब्ध नभएपछि अन्तर्राष्ट्रिय उडानको ठूलो हिस्सा न्यारोबडी जहाजबाट धान्नुपर्ने अवस्था आएको छ।
जापानमा प्राविधिक समस्या, इटालीमा सी–चेक
निगमका प्राविधिक प्रवक्ता तथा इन्जिनियरिङ मेन्टेनेन्स विभागका वरिष्ठ प्राविधिक अधिकृत देवेन्द्र पुनका अनुसार नारिताका लागि उडेको वाइडबडीको इन्जिनमा समस्या आएपछि गत सोमबारदेखि जहाज जापानमै रोकिएको हो।
अर्को वाइडबडीलाई भने नियमित ‘सी–चेक’ का लागि अगस्ट ९ मा इटाली पठाइएको थियो। जहाजको सम्पूर्ण प्रणालीको विस्तृत परीक्षण तथा मर्मतसम्भार गरिने भएकाले सी–चेक सामान्यभन्दा जटिल प्रक्रिया मानिन्छ। तर लामो समय बितिसक्दा पनि जहाज नेपाल फर्कन नसक्दा यसको व्यवस्थापनमाथि प्रश्न उठेको छ।
पुनका अनुसार जापानमा रोकिएको जहाजको मर्मत सकिएर छिट्टै उडानमा फर्कने अपेक्षा गरिएको छ। इटालीमा रहेको अर्को वाइडबडी पनि यही साता नेपाल ल्याउने तयारी भइरहेको उनले बताएका छन्।
दुई न्यारोबडीले धान्दै अन्तर्राष्ट्रिय उडान
वाइडबडी जहाजहरू उपलब्ध नभएपछि निगमले उडान तालिका परिमार्जन गरेर दुई न्यारोबडीमार्फत अन्तर्राष्ट्रिय सेवा सञ्चालन गरिरहेको छ। तर न्यारोबडीको उडान क्षमता र पहुँच वाइडबडीको तुलनामा सीमित भएकाले त्यसको प्रत्यक्ष असर तालिकामा परेको निगमले स्वीकार गरेको छ।
निगमका प्राविधिक अधिकारीका अनुसार अन्य ठूला वायुसेवा कम्पनीसँग धेरै जहाज हुने भएकाले एउटामा प्राविधिक समस्या आउँदा अर्को जहाज प्रयोग गर्न सकिन्छ। नेपाल एयरलाइन्ससँग जहाजको संख्या सीमित भएकाले एउटा जहाज ग्राउन्डेड हुँदा पनि त्यसको प्रभाव सम्पूर्ण उडान प्रणालीमा देखिने गरेको उनको भनाइ छ।
पिक सिजनमा आम्दानी गुमाउँदै निगम
दसैँ र तिहारको समयमा विदेशमा रहेका नेपाली स्वदेश फर्कने र चाडपर्वपछि पुनः गन्तव्यतर्फ जाने भएकाले हवाई यात्रुको चाप उल्लेख्य रूपमा बढ्छ। यही समयमा निगमका लामो दूरीका दुईवटै वाइडबडी सञ्चालनमा नहुनुले आम्दानीको ठूलो अवसर गुमिरहेको छ।
निगमका एक वरिष्ठ प्रशासनिक कर्मचारीका अनुसार २७४ सिट क्षमताको वाइडबडीले जापानको नारिता उडानबाट उल्लेख्य आम्दानी गर्ने गरेको छ। सामान्य समयमा नारितामा सातामा दुईवटा उडान हुँदै आएकोमा चाडपर्वको सिजनमा उडान संख्या बढाउने तयारी थियो।
उनका अनुसार यात्रु र कार्गोसहित एकपटक जापान उडान गर्दा निगमले औसतमा करिब ६ करोड रुपैयाँ आम्दानी गर्ने गरेको छ। समग्र हिसाबमा एउटा वाइडबडीबाट दैनिक करिब २ करोड रुपैयाँसम्म आम्दानी गर्ने क्षमता रहेको उनको दाबी छ।
डेढ महिनामा करोडौँको आम्दानी प्रभावित
इटालीमा सी–चेकका लागि राखिएको ‘मकालु’ नामको वाइडबडीले मात्रै करिब ५५ करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाइसकेको ती कर्मचारीको भनाइ छ। त्यस्तै जापानको नारितामा एक सातासम्म रोकिएको ‘अन्नपूर्ण’ वाइडबडीबाट करिब १२ करोड रुपैयाँभन्दा बढी आम्दानी प्रभावित भएको उनले बताए।
दुवै जहाज सञ्चालनमा नहुँदा निगमले एक दर्जनभन्दा बढी महत्वपूर्ण उडान रद्द गर्नुपरेको बताइएको छ।
नारिता रुटबाटै देखिन्छ आम्दानीको आकार
निगमको तथ्यांकअनुसार गत जेठ र असारमा काठमाडौंबाट जापानको नारिता जाने यात्रुको संख्या ६ हजार २०९ थियो। सोही अवधिमा नारिताबाट काठमाडौं फर्कने यात्रुको संख्या ५ हजार ४८३ थियो।
काठमाडौंबाट नारिता जाने यात्रु र उनीहरूसँग ढुवानी गरिएको कार्गोबाट मात्रै ती दुई महिनामा निगमले ४६ करोड ९९ लाख ८५ हजार ६ सय ३८ रुपैयाँ आम्दानी गरेको थियो।
त्यस्तै नारिताबाट काठमाडौं फर्किएका यात्रु तथा कार्गोबाट थप ३२ करोड ८७ लाख ४६ हजार ५० रुपैयाँ आम्दानी भएको निगमको तथ्यांक छ।
यसरी वाइडबडी जहाज लामो समयसम्म सञ्चालनमा नआउँदा प्रत्यक्ष आम्दानीमा मात्रै असर परेको छैन, चाडपर्वको समयमा यात्रुलाई सेवा दिन नसक्दा राष्ट्रिय ध्वजावाहकप्रतिको विश्वसनीयतामा समेत असर पर्न सक्ने देखिएको छ।
