पोखरा–दुबई नियमित उडान सुरु गर्दै फ्लाई दुबई
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले बुधबारदेखि दुबई–पोखरा–दुबई गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्दैछ। विमानस्थल सञ्चालनमा आएको लामो समयपछि नियमित अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउने भएपछि पोखराका पर्यटन व्यवसायी तथा उद्योगी उत्साहित भएका छन्।
विसं २०७९ पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि केही वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि ती उडान नियमित हुन सकेका थिएनन्।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ। यात्रु लिएर उक्त विमान साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ।
फ्लाई दुबईको पहिलो नियमित उडानलाई विमानस्थलमा पानीको फोहराले स्वागत गर्ने तयारी गरिएको छ। यात्रु तथा पर्यटकलाई पोखराका पर्यटन व्यवसायीले खादा र मालासहित स्वागत तथा बिदाइ गर्ने कार्यक्रमसमेत राखेका छन्।
महाप्रबन्धक निरौलाले अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पूर्वाधार तथा सेवा व्यवस्थापन पूरा भइसकेको बताए। उनका अनुसार अध्यागमन, भन्सार, कार्गो तथा अन्य आवश्यक सेवा सञ्चालनका लागि विमानस्थल तयारी अवस्थामा छ।
‘विमानस्थल सञ्चालनपछि अन्तर्राष्ट्रिय उडान भए पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। अब दुबईका लागि दैनिक नियमित उडान सुरु हुन लागेकोमा हामी उत्साहित छौं,’ उनले भने।
पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले पनि यात्रु जाँचपास, राजस्व संकलन तथा वैध व्यापार सहजीकरणका लागि आवश्यक तयारी पूरा गरिएको जानकारी दिए।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले दुबई अन्तर्राष्ट्रिय हवाई ट्रान्जिटको महत्वपूर्ण केन्द्र भएकाले पोखरा–दुबई उडानले थप अन्तर्राष्ट्रिय गन्तव्यसँग जोडिने अवसर सिर्जना गर्न सक्ने बताए।
उनका अनुसार फ्लाई दुबईले दुबईबाट विश्वका विभिन्न गन्तव्यमा उडान सञ्चालन गर्दै आएको छ। त्यसैले पोखराबाट दुबई हुँदै अन्य मुलुकमा जाने यात्रुका लागि पनि यो उडान उपयोगी हुन सक्ने अपेक्षा गरिएको छ।
रोजगारी तथा अध्ययनका लागि नेपालीहरू दुबई जाने क्रम बढिरहेको अवस्थामा पोखराबाटै प्रत्यक्ष उडान उपलब्ध हुँदा यात्रुलाई थप सहज हुने पर्यटन व्यवसायीहरूको भनाइ छ।
यसैबीच, अन्तर्राष्ट्रिय उडानका क्रममा आवश्यक सुरक्षा व्यवस्थाको निरीक्षण जिल्ला सुरक्षा समितिले गरेको छ। प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार विमानस्थलमा आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको छ।
