नेपाली राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीको अन्तर्राष्ट्रिय ब्याटिङ वरीयतामा उल्लेखनीय फड्को
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरी ले आईसीसी पुरुष टी–२० अन्तर्राष्ट्रिय ब्याटिङ वरीयतामा उल्लेखनीय फड्को मारेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा उनले ११ स्थान उक्लिँदै ५०३ अंकसहित ६०औँ स्थान कब्जा गरेका छन्। उनको व्यक्तिगत उत्कृष्ट रेटिङ ५१७ रहेको छ, जुन उनले २०२४ मा अमेरिकाविरुद्ध डलासमा प्राप्त गरेका थिए।
यसैबीच कप्तान रोहित पौडेल को वरीयता भने ओरालो लागेको छ। उनी ८ स्थान झर्दै ४५७ अंकका साथ ८३औँ स्थानमा पुगेका छन्। उनको करिअर उच्च रेटिङ ५१८ हो, जुन २०२४ मा हङकङविरुद्ध हासिल गरेका थिए।
ओपनर कुशल भुर्तेल पनि ८ स्थान तल झरेर ४५२ अंकसहित ८५औँ स्थानमा पुगेका छन्। उनको करिअरकै उत्कृष्ट ५९० रेटिङ २०२२ मा कीर्तिपुरमा पीएनजीविरुद्ध आएको थियो। विकेटकिपर ब्याट्सम्यान आसिफ शेख ३ स्थान खस्किँदै ४४१ अंकमा सीमित भएका छन्। उनले २०२५ मा कुवेतविरुद्ध हङकङमा ४५२ रेटिङ प्राप्त गरेका थिए, जुन उनको उच्चतम अंक हो।
ब्याटिङ वरीयताको शीर्ष स्थानमा भारतका अभिषेक शर्मा छन्। उनले ८९१ अंकसहित पहिलो स्थान कायम राखेका छन्।
अलराउन्डर वरीयतामा पनि उछाल
अलराउन्डरतर्फ पनि दीपेन्द्रले उत्कृष्ट प्रदर्शनको फल पाएका छन्। उनी २ स्थान सुधार गर्दै २४४ अंकसहित चौथो स्थानमा उक्लिएका छन्। यही अंक उनको करिअर बेस्ट पनि हो, जुन उनले २०२५ मा मुम्बईमा स्कटल्यान्डविरुद्धको प्रदर्शनपछि हासिल गरेका थिए। विश्वकपमा स्कटल्यान्डविरुद्ध अर्धशतक प्रहार गर्नु उनका लागि निर्णायक सावित भएको थियो।
कुशल भुर्तेलले पनि १ स्थान सुधार गर्दै १४६ अंकसहित २२औँ स्थान हात पारेका छन्। रोहित पौडेल २ स्थान उक्लिँदै ९३ अंकका साथ ४०औँ स्थानमा पुगेका छन्।
यता गुल्सन झा भने १५ स्थान तल झर्दै ६५ अंकसहित ७२औँ स्थानमा पुगेका छन्। अलराउन्डर वरीयताको शीर्ष स्थानमा पाकिस्तानका साइम अयुब छन्। उनले ३०३ अंकसहित पहिलो स्थान ओगटेका छन्।
