मालढुङ्गा–बेनी सडक स्तरोन्नति: म्याग्दी–मुस्ताङ पर्यटनमा नयाँ गति
म्याग्दी । हिमालको काखमा बस्ने म्याग्दी र मुस्ताङ अब अझ नजिकिएका छन्। मालढुङ्गा–बेनी सडक स्तरोन्नतिसँगै यस क्षेत्रको पर्यटन यात्रामा उल्लेख्य सहजता आएको छ।
कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक योजनाअन्तर्गत १३ किलोमिटर सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट प्रविधिबाट कालोपत्र गरिएको हो। पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिकाका विभिन्न वडाहरू हुँदै म्याग्दी सदरमुकाम बेनीसम्मको यो सडक स्तरोन्नतिले यात्रालाई सुरक्षित, छिटो र आरामदायी बनाएको छ।
पहिले धुलो, हिलो र साँघुरो घुमाउरो बाटोका कारण पर्यटक र स्थानीयलाई सास्ती खेप्नुपर्थ्यो। विशेषगरी मुस्ताङ जाने पर्यटक, तीर्थयात्री र साहसिक यात्रुका लागि यो खण्ड चुनौतीपूर्ण मानिन्थ्यो। अब भने यात्राअवधि उल्लेख्य रूपमा घटेको छ। यातायात व्यवसायीका अनुसार यसअघि करिब एक घण्टा लाग्ने दूरी अहिले १५–२० मिनेटमै पार गर्न सकिन्छ।
यो सडक सुधारले केवल दूरी छोट्याएको छैन, गन्तव्यलाई अझ पहुँचयोग्य बनाएको छ। मुस्ताङ, जोमसोम र कोरला नाका हुँदै चीन सीमासम्मको यात्रा गर्ने पर्यटकका लागि अब आवागमन सहज भएको छ। पोखराबाट बेनी हुँदै मुस्ताङ पुग्ने मार्ग अझ आकर्षक बनेको छ।
सडक विस्तारले होटल, होमस्टे, रेष्टुरेन्ट तथा साहसिक पर्यटन व्यवसायमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। यात्रा सहज भएसँगै आन्तरिक पर्यटकको सङ्ख्या बढ्ने र विदेशी पर्यटकलाई पनि सुरक्षित पहुँच मिल्ने विश्वास गरिएको छ।
स्थानीय व्यवसायीहरूका अनुसार धुलो–हिलो हटेसँगै पर्यटकको अनुभव सुधारिएको छ। पहिला वर्षायाममा जोखिमपूर्ण मानिने यो खण्ड अब सबै मौसममा प्रयोगयोग्य बन्ने चरणमा पुगेको छ।
मालढुङ्गा–बेनी सडक स्तरोन्नति केवल पूर्वाधार विकास मात्र होइन, गण्डकी प्रदेशको हिमाली पर्यटनका लागि नयाँ अध्याय हो। अब म्याग्दी र मुस्ताङका प्राकृतिक, धार्मिक र साहसिक गन्तव्यहरू अझ छिटो, सजिलो र सुरक्षित रूपमा विश्वसामु पुग्ने बाटो खुलेको छ।
