नागढुंगा सुरुङमार्गबाट दुई दिनमै २४ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन
काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट दुई दिनको अवधिमा २४ लाख ५५ हजार रुपैयाँ शुल्क संकलन भएको छ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार कात्तिक १५ गतेदेखि शुल्क उठाउन सुरु गरिएपछि दुई दिनमै उक्त रकम संकलन भएको हो।
उनका अनुसार शुल्क संकलनको पहिलो दिन नगद तथा अनलाइन भुक्तानीसमेत गरी ११ लाख ८४ हजार रुपैयाँ उठेको थियो। दोस्रो दिन भने १२ लाख ७१ हजार रुपैयाँ संकलन भएको छ।
सुरुङमार्ग प्रयोग गर्ने काठमाडौं भित्रिने र बाहिरिने सबै प्रकारका सवारीसाधनले सरकारले राजपत्रमा तोकेको दरअनुसार शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
निर्धारित शुल्कअनुसार कार, जिप, भ्यान तथा माइक्रोबसले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्छ।
त्यस्तै, ठूला सवारीसाधनका लागि सुरुङमार्ग प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
हाल सुरुङमार्ग प्रयोगकर्ताले नगद र क्युआर कोडमार्फत शुल्क भुक्तानी गर्न सक्ने व्यवस्था छ। आगामी दिनमा भने आरएफआइडी कार्ड तथा ट्याग प्रणाली सञ्चालनमा ल्याएर शुल्क भुक्तानीलाई स्वचालित बनाउने तयारी आयोजनाले गरेको छ।
यस प्रणाली लागू भएपछि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनको शुल्क संकलन थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।
