मुस्ताङमा विदेशी पर्यटकको आकर्षण बढ्दो, १० महिनामै २ लाख ८५ हजारभन्दा बढीले गरे भ्रमण
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको छ। सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म २ लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्।
राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोमको तथ्याङ्कअनुसार भ्रमण गर्ने पर्यटकमध्ये २ लाख ६२ हजार १२ जना सार्क राष्ट्रका रहेका छन् भने अन्य मुलुकबाट २८ हजार २७५ जना आएका छन्।
सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्म मुस्ताङ पुग्ने विदेशी पर्यटकको कुल सङ्ख्या १ लाख ६१ हजार १४१ थियो। यस वर्षको पहिलो १० महिनामै गत वर्षको तुलनामा पर्यटक आगमन ७७.६२ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ।
एक्याप जोमसोमका प्रमुख राजेश गुप्तका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष दुई महिना बाँकी रहँदै पर्यटकको सङ्ख्यामा १ लाख २३ हजार ४७५ ले वृद्धि भएको छ।
सार्क मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा झनै ठूलो वृद्धि देखिएको छ। सन् २०२६ को पहिलो १० महिनामा सार्क राष्ट्रबाट आउने पर्यटकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा ९७ प्रतिशतले बढेको एक्यापले जनाएको छ। यस अवधिमा सार्क क्षेत्रबाट मात्रै थप १ लाख २९ हजार १४६ पर्यटक मुस्ताङ पुगेका छन्।
तर अन्य मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा भने कमी देखिएको छ। सन् २०२५ मा २३ हजार ६०४ जना पर्यटक अन्य राष्ट्रबाट आएकामा यस वर्षको १० महिनामा उक्त सङ्ख्या १६.५ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको तुलनामा ४ हजार ६७१ जना कम पर्यटक आएको तथ्याङ्क छ।
एक्याप प्रमुख गुप्तले नोभेम्बर र डिसेम्बर महिना बाँकी रहेकाले चालु वर्षमा गत वर्षको भन्दा पर्यटक सङ्ख्या घट्ने सम्भावना नरहेको बताएका छन्।
यस वर्ष रसुवागढीमा आएको विनाशकारी बाढी, जोमसोम–कोरला सडक अवरुद्ध हुनु, हवाई सेवा स्थगित हुनु तथा प्रतिकूल मौसमका कारण मुस्ताङको पर्यटन क्षेत्रमा केही असर परेको थियो। यस्ता चुनौतीका बाबजुद पर्यटक आगमनमा उल्लेखनीय वृद्धि भएको हो।
मुस्ताङमा सार्क राष्ट्रबाट पर्यटक बढ्नुको प्रमुख कारण भारतीय पर्यटकको आगमन रहेको एक्यापको भनाइ छ। मुक्तिनाथ मन्दिरको दर्शन गर्न आउने भारतीय धार्मिक पर्यटकको सङ्ख्या वर्षेनी बढ्दै गएको छ।
त्यसैगरी, अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत मनाङबाट थोरङ्ला भञ्ज्याङ पार गर्दै मुस्ताङ प्रवेश गर्ने विदेशी पदयात्रीको सङ्ख्याले पनि यहाँको पर्यटन गतिविधिलाई थप चलायमान बनाएको छ।
