प्रतिनिधिसभा निर्वाचन सम्पन्न
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन–२०८२ को मतदान बिहीबार बिहान ७ बजेदेखि सुरु भई साँझ ५ बजेसम्म सम्पन्न भएको छ। निर्धारित समयसम्म मतदान केन्द्रमा पुगेका मतदाताले भने लाइनमा बसेर मतदान गर्ने अवसर पाएका छन्।
निर्वाचन आयोगका अनुसार मतदान समय सकिएपछि नयाँ मतदाता भने मतदान केन्द्रमा प्रवेश गर्न नपाउने व्यवस्था गरिएको थियो।
यसपटकको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी कुल २७५ सिटका लागि ६ हजार ५४१ उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए। प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १६५ सिटका लागि ३ हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा थिए। तीमध्ये ३ हजार १७ पुरुष, ३८८ महिला र एक जना अन्य लिङ्गका उम्मेदवार रहेका थिए।
समानुपातिकतर्फ ११० सिटका लागि ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा थिए। यसतर्फ १ हजार ३६३ पुरुष र १ हजार ७७२ महिला उम्मेदवारको नामावली रहेको आयोगले जनाएको छ।
निर्वाचनमा देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका थिए। तीमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला तथा २०० अन्य मतदाता रहेका थिए। आयोगका अनुसार प्रारम्भिक विवरणमा ५० प्रतिशतभन्दा बढी मत खसेको अनुमान गरिएको छ।
मतदानका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र स्थापना गरिएको थियो। साथै विशेष परिस्थितिमा रहेका मतदाताका लागि १४३ अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको थियो।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा अशक्त मतदातालाई सहज रूपमा मतदान गर्न प्राथमिकता दिने व्यवस्था मिलाइएको थियो।
निर्वाचन सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। त्यसअनुसार ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, १ हजार ९२१ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटाइएको थियो।
त्यसैगरी मतदान प्रक्रिया सञ्चालन गर्न देशभर करिब २ लाख १५ हजार कर्मचारी परिचालन गरिएको थियो। निर्वाचन आयोगले छिटपुट घटनाबाहेक समग्र मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।
