प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मतदान : निर्वाचन आयोग
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभरबाट प्राप्त प्रारम्भिक विवरणका आधारमा यस्तो जानकारी दिएका हुन्।
बिहीबार मतदान प्रक्रिया सकिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले विशेष परिस्थितिमा घोषणा गरिएको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नु चुनौतीपूर्ण भए पनि समग्र प्रक्रिया उत्साहजनक रूपमा सम्पन्न भएको बताए।
उनका अनुसार देशभरबाट आएको प्रारम्भिक तथ्यांकका आधारमा करिब ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ भने विस्तृत विवरण संकलन गर्ने काम अझै जारी रहेको छ।
बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन भएको थियो। आयोगका अनुसार मतदान अधिकांश स्थानमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ।
यस निर्वाचनमा देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता सूचीकृत थिए। प्रतिनिधिसभाका १६५ प्रत्यक्ष तथा ११० समानुपातिक गरी कुल २७५ सिटका लागि मतदान गरिएको हो।
निर्वाचन आयोगले अब मतपेटिका संकलन, मतगणनाको तयारी तथा अन्तिम नतिजा सार्वजनिक गर्ने प्रक्रिया अघि बढाइने जनाएको छ।
