मतगणनाको प्रारम्भिक नतिजा अनुसार रास्वपा स्पष्ट बहुमततर्फ
टुरिजमफेस
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतदानको प्रारम्भिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट बहुमततर्फ अघि बढेको छ । मतदान सम्पन्न भएलगत्तैै मतगणना सुरु गरिएका निर्वाचन क्षेत्रको मत परिणाम आउन थालेको छ ।
नतिजा अनुसार निर्वाचनअघिकै अपेक्षा अनुसार रास्वपा विजयीतर्फ उन्मुख भइरहेको छ । मतगणनाको प्रारम्भिक अवस्थादेखि नै रास्वपाका उम्मेदवारहरूले मतमा नेतृत्व गरिरहेकाले अन्तिम अवस्थासम्म यस्तै नतिजा कायम हुने अनुमान छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पटकपटक सत्ताको नेतृवमा पुगेका कैयन उम्मेदवार मतगणनामा पछि पर्दै गएका छन् । गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रतिनिधिसभा निर्वाचन भएको हो ।
रास्वपाले सुशासनको मुद्दालाई प्रमुखताका साथ उठाएको छ भने २०४६ पछि सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता गरेको छ । नेकपा एमाले र नेपाली कम्युननिष्ट पार्टी पुरानै नेतृत्व लिएर निर्वाचनमा प्रतिस्पर्धा गरेको थियो भने नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत शेरबहादुर देउवालाई हटाएर गगन थापालाई पार्टी सभापति बनाएको थियो ।
२७५ प्रतिनिधिसभा सदस्यका लागि १६५ प्रत्यक्ष र ११० सिट समानुपातिक प्रणालीबाट छनोट हुन्छन् । स्पष्ट बहुमतका लागि १३८ सिट ल्याउन आवश्यक हुन्छ । निर्वाचनमा ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
