के राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ मत प्राप्त गर्दैछ ?
रुद्र खड्का
काठमाडौं । प्रत्यक्ष र समानुपातिक गरी २७५ सिटका लागि भएको प्रतिनिधिसभा निर्वाचनको नतिजा आउने क्रम सुरु भएको छ । शनिबार बिहानसम्मको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २४ सिटमा जित हासिल गरिसकेको छ । उसले देशव्यापी रूपमा जितको लहर ल्याइरहेको छ । र, मतगणनामा यही क्रम कायम राखे दुई तिहाइ मत प्राप्त गर्ने सम्भावना देखिएको छ ।
१६५ प्रत्यक्ष तथा ११० समानुपातिक सिटका लागि दुई तिहाइ संख्या प्राप्त गर्न रास्वपाले १८४ सिटमा विजयी हुनुपर्नेछ । निर्वाचनअघि स्वयम् रास्वपाले अपेक्षा नगरेका निर्वाचन क्षेत्रमा समेत उसका उम्मेदवारले अग्रता लिइरहेका छन् । रास्वपाले समानुपातिकतर्फ पनि प्रतिस्पर्धीभन्दा निकै फराकिलो अन्तरले मत प्राप्त गरिरहेको छ ।
नेपालको राजनीतिमा नामै नसुनिएका तथा कुनै पनि निर्वाचनमा प्रतिस्पर्धा नगरेका कैयन व्यक्ति प्रतिनिधिसभाको सदस्य बन्ने सम्भावना छ । २०४६ पछि पटकपटक सत्ताको नेतृत्व गरेका नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्षस्थ नेताहरू पराजयको नजिक पुगेका छन् ।
यसअघि पटकपटक प्रधानमन्त्री तथा मन्त्रीको पद लिएकामध्ये नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल पूर्वी रुकुमबाट विजयी भइसकेका छन् भने कालिकोटबाट महेन्द्रबहादुर शाही, रोल्पाबाटवर्षमान पुनलगायत सीमित नेताहरूको मात्र विजयी हुने सम्भावना देखिएको छ ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पराजित हुने पक्कापक्की जस्तै छ । त्यति मात्र होइन निर्वाचनमा प्रतिस्पर्धामा नै आउन नसक्ने टिप्पणी गर्दै आएका कांग्रेस, एमालेका नेताहरू पराजयको नजिक छन् ।
उपप्रधानमन्त्री भइसकेका प्रकाशमान सिंह, विमलेन्द्र निधि, विष्णु पौडेललगायतका उम्मेदवारको औपचारिक रूपमा पराजित भएको घोषणा हुन बाँकी छन् । त्यस्तै नेपाली राजनीतिमा चर्चा बटुल्दै आएका शंकर पोखरेल, दीपक गिरि, फरमुल्लाह मन्सुर, महिन्द्राराय यादव, सुनिल शर्मा, सुर्य थापा, ऋषि धमला, चन्द्र भण्डारी, गिरिराजमणि पोखरेल, रवीन्द्र मिश्रलगायत पराजयको यात्रामा छन् ।
रास्वपाका सभापति रवी लामिछाने, बालेन्द्र शाह, स्वर्णिम वाग्ले, डिपी अर्याल, तोसिमा कार्की, निशा डाँगीको जित सुनिश्चित भइसकेको छ । कांग्रेस नेता शेखर कोइराला निर्वाचनमा पराजित भइसकेका छन् ।
निर्वाचनअघि रास्वपामा मिसिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका कारण चुनावी माहोल बनेको विश्लेषण गरिएको छ । निर्वाचनमा शाहलाई प्रधानमन्त्रीको रूपमा अघि सारेर रास्वपा प्रचारप्रसारमा होमिएको थियो ।
कांग्रेस, एमाले र नेकपाको अवस्था उस्तै
निर्वाचनअघि शेरबहादुर देउवालाई हटाएर विशेष महाधिवेशनबाट अध्यक्षको जिम्मेवारी लिएका गगन थापाको प्रयासलाई पनि मतदाताले खासै पत्याएको देखिएन । थापा पार्टी नेतृत्वमा आएपछि कैयनले कांग्रेसको अवस्थामा सुधार हुने र सम्भवतः पहिलो पार्टी हुनसक्ने अनुमान गरे पनि मतदाताले त्यस्तो अनुमानलाई गलत सावित गरिदिएका छन् ।
एक तिहाई मत गणना भइसक्दा पटकपटक सत्ताको नेतृत्व गर्दै आएका कांग्रेस, एमालेको हैसियत समान हुने देखिएको छ । नेपाली कम्युनिष्ट पार्टीको हैसियत पनि सोहीखाले नै हुने प्रष्ट देखिएको छ ।
विगतमा मधेसमा विभिन्न नारा लगाउँदै विजयी प्राप्त गरेका मधेसवादी दलहरूको अवस्था यसपटकको निर्वाचनबाट कमजोर भएको छ । जेनजी आन्दोलनपछि बनेको सरकारमा भौतिक पूर्वाधारलगायत मन्त्रालयको जिम्मा पाएका कुलमान घिसिङले राम्रैसँग प्रतिस्पर्धा गरे पनि उनी विजयी हुन सकेनन् र उनको दल उज्यालो नेपाल पार्टीले कुनै पनि सिट प्राप्त गर्ने हैसियत बनाएन । राष्ट्रिय प्रजातन्त्र पार्टी थप कमजोर हुने सम्भावना देखिएको छ ।
त्यस्तै पूर्वमाओवादीबाट विद्रोह गरेका जनार्दन शर्माले पनि पश्चिम रुकुममा विजयीको संघर्ष गरिरहँदा उनको पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टीले देशका अन्य निर्वाचन क्षेत्रमा कुनै उपस्थिति जनाउन सकेन । साथै धरान उपमहानगरपालिकाको मेयरबाट राजीनामा दिई प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गरेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ्को पार्टीको हैसियत पनि कमजोर देखियो ।
दुई तिहाइ मत प्राप्त गरेपछिको अवस्था
रास्वपाले दुई तिहाई मत प्राप्त गर्न सक्यो भने देशमा मुख्यगरी सुशासन कायम गर्न र आर्थिक समृद्धिमा योगदान पुग्ने काममा जुट्न दवाव पर्नेछ । रास्वपाले पनि देशमा भ्रष्टाचारको अन्त्य गर्नुपर्ने र आर्थिक समृद्धिको नारा लगाएकाले मतदाताले त्यसैलाई विश्वास गरेको देखिन्छ ।
रास्वपाले आफ्ना नारा अनुसार काम गर्न सबभन्दा पहिला सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने छ भने अर्थतन्त्र सुधारका लागि उत्पादन वृद्धिका कार्यक्रम ल्याउनुपर्ने हुन्छ ।
सत्तामा नहुँदा अनेक प्रलोभन र नारा लगाएका कारण मतदाताले केही परिवर्तन होला कि भन्ने आशयका साथ रास्वपालाई सत्तामा पु¥याउने देखिएकाले अब आफूले गरेका प्रतिबद्धता पूरा गर्न रास्वपाले कुन बाटो लिन्छ भन्ने कुरा सबैका लागि चासो छ । रास्वपाले प्रदेशको औचित्यमा पनि प्रश्न उठाउँदै आएको छ ।
बिहीबार सम्पन्न निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको थियो । निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी ६ हजार पाँच सय ४१ उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १६५ सिटका लागि तीन हजार चार सय ६ र समानुपातिकतर्फ ११० सिटका लागि तीन हजार एक सय ३५ उम्मेदवार प्रतिस्पर्धामा थिए ।
निर्वाचन सम्पन्न भएकोमा भारत र चीनको बधाई
प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा भारत र चीनले नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका छन् । निर्वाचनपछि स्थिर सरकार गठनतर्फ देश अघि बढिरहेका बेला भारतले छिमेकी राष्ट्रका रूपमा सहकार्यलाई निरन्तरता दिने संकेत गरेको हो ।
भारतीय विदेश मन्त्रालयले बिहीबार साँझ जारी गरेको वक्तव्यमा नेपालमा लोकतान्त्रिक अभ्यासअन्तर्गत निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु सकारात्मक भएको उल्लेख गर्दै प्रधानमन्त्री सुशीला कार्की र निर्वाचनमा सक्रिय रूपमा सहभागी मतदातालाई बधाई दिइएको छ ।
वक्तव्यमा भारतले नेपालसँगको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई स्मरण गर्दै आगामी दिनमा गठन हुने नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको जनाइएको छ । दुई देशबीचको सम्बन्ध बहुआयामिक रहेको उल्लेख गर्दै त्यसलाई अझ सुदृढ बनाउन सहकार्य जारी रहने बताइएको छ ।
भारतीय विदेश मन्त्रालयले नेपालमा स्थायित्व, शान्ति र आर्थिक प्रगतिका लागि भारतले निरन्तर सहयोग र समर्थन गर्ने पनि जनाएको छ । साथै, आगामी सरकारसँग मिलेर द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
त्यस्तै निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा छिमेकी मुलुक चीनले खुसी व्यक्त गरेको छ । शुक्रबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई चीनले चासोका साथ अवलोकन गरिरहेको बताइन् । उनले नेपालले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्नु सकारात्मक उपलब्धि भएको उल्लेख गरिन् ।
‘निर्धारित तालिकाअनुसार प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा चीन नेपाललाई बधाई दिन्छ,’ प्रवक्ता निङले भनिन्, ‘नेपालले आफ्ना राजनीतिक एजेन्डाहरू व्यवस्थित ढंगले अघि बढाइरहेको देख्दा हामीलाई खुसी लागेको छ ।’
प्रवक्ता निङले चीनले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिने बताउँदै विकास र समृद्धिका लागि स्थापित रणनीतिक सहकार्यलाई अझ मजबुत बनाउन आगामी दिनमा पनि नेपालसँग मिलेर काम गर्न तयार रहेको स्पष्ट पारिन् ।
नेपालमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई लिएर छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय समुदायले चासोपूर्वक हेरिरहेका छन् ।
