इरानी नागरिकलाई अब नेपालमा अनअराइभल भिसा नदिने निर्णय
काठमाडौं — नेपाल सरकारले इरानी नागरिकलाई अबदेखि अनअराइभल भिसा नदिने निर्णय गरेको छ। अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार सरकारी तथा कूटनीतिक राहदानीबाहेक अन्य इरानी नागरिकले नेपाल आउनुअघि अनिवार्य रूपमा विदेशस्थित नेपाली दूतावासबाट भिसा लिनुपर्नेछ।
यस व्यवस्थासँगै नेपालमा अनअराइभल भिसा सुविधा नपाउने मुलुकहरूको संख्या १३ पुगेको विभागले जनाएको छ।
यसअघि नाइजेरिया, घाना, जिम्बाब्वे, स्वाजिल्यान्ड, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकलाई पनि नेपाल प्रवेश गर्दा अनअराइभल भिसा दिइँदैन।
त्यस्तै, शरणार्थी हैसियतमा जारी गरिएको ट्राभल डकुमेन्ट भएका व्यक्तिहरूले पनि नेपाल प्रवेश गर्नुअघि विदेशस्थित नेपाली कूटनीतिक नियोगबाट भिसा लिएर मात्र आउन पाउने व्यवस्था कायम गरिएको छ।
