पर्यटकीय ट्रान्जिट बन्दै बागलुङ
Tourism Face Banner News, NEWS 0
बागलुङ । मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएपछि बागलुङ पछिल्लो समय पश्चिम नेपालको महत्वपूर्ण ‘ट्रान्जिट’ गन्तव्यका रूपमा उभिन थालेको छ। डोल्पाको शे–फोक्सुन्डो ताल र मुगुको रारा ताल घुम्न जाने पर्यटकहरू अब बागलुङ हुँदै यात्रा गर्न थालेका छन्। छोटो दूरी र सहज यात्राका कारण यो मार्ग पर्यटकको रोजाइमा पर्न थालेको हो।
काठमाडौंको साँखुका सुजन मल्ल अघिल्लो महिना साथीहरूको टोलीसहित शे–फोक्सुन्डो र रारा घुम्न निस्किएका थिए। उनीहरू मोटरसाइकलमार्फत बागलुङ आइपुगे र एक रात बसाइपछि मध्यपहाडी लोकमार्ग हुँदै रारा पुगे। सुजनसँगै निकेश गुरुङ, विपिन गौतम, आयुष थापा र राजदर्शन कटुवालसहितको टोलीले पहिलो पटक यही मार्ग प्रयोग गरेको थियो।
उनीहरूले पहिले नै मार्गबारे अध्ययन गरेर बागलुङ हुँदै यात्रा गर्दा दूरी कम पर्ने र यात्रा सहज हुने निष्कर्ष निकालेका थिए। भ्रमण सकेर फर्किएपछि उनीहरूले यो मार्गबाट शे–फोक्सुन्डो र रारा पुग्न सहज भएको अनुभव सुनाएका छन्। उनीहरूको अनुभव सुनेर अन्य समूहका पर्यटक पनि बागलुङ हुँदै पश्चिमका गन्तव्यतर्फ जाने क्रम बढिरहेको होटल व्यवसायीहरू बताउँछन्।
होटल संघ बागलुङका अध्यक्ष राजभण्डारीका अनुसार पहिले धेरैलाई बागलुङ हुँदै रारा र शे–फोक्सुन्डो पुग्न सकिन्छ भन्ने जानकारी थिएन। तर अहिले मोटरसाइकल र जिप रिजर्भ गरेर आउने पर्यटकहरू बागलुङलाई पहिलो बसाइ बनाउँदै यात्रा तय गर्न थालेका छन्।
राजधानी, चितवन, हेटौँडा लगायत पूर्वी क्षेत्रका पर्यटकहरू पनि पश्चिम नेपाल भ्रमणका लागि मध्यपहाडी लोकमार्ग रोज्न थालेका छन्। सार्वजनिक बस प्रयोग गर्ने यात्रुहरू समेत बागलुङ हुँदै रुकुम र जाजरकोटतर्फ जाने गरेका छन्। मुक्तिनाथ तथा उपल्लो मुस्ताङ जाने पर्यटकहरूले पनि बागलुङलाई बीचको बसाइस्थल बनाउने क्रम बढेको छ।
बागलुङ पर्यटन विकास समितिले पनि यस क्षेत्रलाई ‘मुस्ताङको प्रवेशद्वार’का रूपमा प्रचार गर्दै पर्यटकलाई सवारी व्यवस्थापनमा सहयोग गर्न थालेको छ। बागलुङ बजारसम्म सार्वजनिक यातायातबाट आएका पर्यटकहरू यहीँबाट ढोरपाटन, मुस्ताङ तथा कर्णालीका विभिन्न गन्तव्यतर्फ प्रस्थान गर्ने गरेका छन्।
पर्यटकको आगमन बढेसँगै बागलुङ बजार, गलकोट र बुर्तिवाङ क्षेत्रमा होटल व्यवसाय पनि विस्तार भइरहेको छ। पछिल्लो चार वर्षमा जिल्लामा आधा दर्जन ठूला होटल थपिएका छन् भने दर्जनौँ मझौला होटल सञ्चालनमा आएका छन्। अहिले करिब तीन हजार पर्यटकलाई एकैपटक बस्ने व्यवस्था गर्न सकिने होटल व्यवसायीहरूको भनाइ छ।
युवा पुस्तामा बढ्दो घुम्ने संस्कृतिले पनि बागलुङको पर्यटन गतिविधि चलायमान बनाएको छ। बागलुङ कालिका, पञ्चकोट, ढोरपाटन तथा बुकी क्षेत्र घुम्न आउने पर्यटकहरूले पनि बागलुङ बजारलाई आधार स्थल बनाउने गरेका छन्। ढोरपाटन सिकार आरक्षमा मात्रै गत वर्ष १८ हजार पर्यटक पुगेका थिए भने यस वर्षको सुरुवाती महिनामै ३० हजारभन्दा बढीले भ्रमण गरिसकेको तथ्यांकले देखाउँछ।
मध्यपहाडी लोकमार्गले कर्णाली क्षेत्रका जिल्लालाई पनि राजधानीसँग जोड्ने दूरी छोट्याएको छ। बागलुङबाट रुकुम, जाजरकोट, दैलेख र डोल्पातर्फ सिधा यातायात सञ्चालन भएपछि यात्रुहरूले तराई झर्ने झन्झटबाट पनि मुक्ति पाएका छन्। यसले गर्दा बागलुङ अहिले पश्चिम नेपालको पर्यटन यात्रामा महत्वपूर्ण ‘ट्रान्जिट हब’का रूपमा स्थापित हुँदै गएको छ।
