प्राकृतिक स्वास्थ्य पर्यटनको नयाँ गन्तव्य बन्दै म्याग्दीको सिंगा तातोपानी कुण्ड
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकास्थित सिंगा तातोपानी कुण्ड पछिल्ला वर्षहरूमा प्राकृतिक स्वास्थ्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। करिब ५० डिग्री सेल्सियस तापक्रम भएको प्राकृतिक तातोपानीमा स्नान गरेर स्वास्थ्य लाभ लिन सकिने विश्वासका कारण देशभरका साथै विदेशबाट पनि पर्यटक तथा बिरामी यहाँ पुग्ने क्रम उल्लेख्य रूपमा बढेको छ।
स्थानीयवासीका अनुसार ग्यास्ट्रिक, बाथ, छालासम्बन्धी समस्या, ढाड दुख्ने तथा पुराना चोटपटकमा राहत मिल्ने विश्वासले यहाँ आउनेहरूको संख्या वर्षेनी बढ्दै गएको छ। यही कारणले वार्षिक रूपमा २० हजारभन्दा बढी मानिस उपचार तथा घुमफिरका लागि सिंगा तातोपानी कुण्ड पुग्ने गरेका छन्। कपिलवस्तुका रामलाल चालिसे र चितवनकी चमेली घर्ती क्षेत्री जस्ता धेरै आगन्तुक विगत एक दशकदेखि नियमित रूपमा यहाँ स्नान गर्न आउने गरेका छन्।
दैनिक रूपमा करिब एक हजार दुई सय जनासम्मले स्नान गर्ने गरेको व्यवस्थापन समितिले जनाएको छ। असोजदेखि वैशाखसम्मको समय स्नानका लागि उपयुक्त मानिन्छ। कुण्डमा महिला र पुरुषका लागि छुट्टाछुट्टै समय तालिका बनाइएको छ भने एक पटकमा करिब २५० जनाले स्नान गर्न मिल्ने व्यवस्था गरिएको छ। एकान्तमा स्नान गर्न चाहनेहरूका लागि छुट्टै पोखरीको सुविधा पनि उपलब्ध छ।
१० दिनसम्म स्नान गर्नका लागि प्रतिव्यक्ति ३५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। यसबाट उठेको राजस्वको निश्चित हिस्सा सरकार र बेनी नगरपालिकालाई करस्वरूप बुझाइने गरिएको छ। गत वर्ष नेपालका ६६ जिल्लाका साथै दक्षिण कोरिया, युक्रेन, रसिया र भारतबाट पनि पर्यटकहरू यहाँ पुगेका थिए।
तातोपानी कुण्डमा आउने पर्यटकहरूको संख्या बढेसँगै आसपासका होटल र होमस्टेहरूमा पनि चहलपहल बढेको छ। करिब २० वटा साना–ठूला होटलहरू प्रायः भरिभराउ हुने गरेका छन्। कतिपय पर्यटकले कोठा तथा ग्यास भाडामा लिएर आफैँ खाना पकाएर बस्ने व्यवस्था समेत मिलाउने गरेका छन्।
तातोपानी स्नानसँगै म्याग्दी नदीको प्रसिद्ध असला माछाको परिकार पनि यहाँ आउने आगन्तुकका लागि अर्को आकर्षण बनेको छ। प्राकृतिक उपचार र घुमफिर दुवैको अनुभव लिन सकिने भएकाले सिंगा तातोपानी कुण्ड अहिले म्याग्दीको मात्र नभई देशकै महत्त्वपूर्ण स्वास्थ्य पर्यटन गन्तव्यका रूपमा विकसित हुँदै गएको छ।
