ताङतिङमा दिगोपनमा आधारित पर्यटन प्रवर्द्धनका लागि सामुदायिक कोचिङ सुरु
टुरिजमफेस
पोखरा । पर्यटन क्षेत्रलाई दिगो र व्यवस्थित बनाउने उद्देश्यका साथ कास्कीको मादी गाउँपालिका–२ ताङतिङमा दिगोपनमा आधारित सामुदायिक कोचिङ कार्यक्रम सुरु गरिएको छ।
करिब १४ वर्षअघि सामुदायिक होमस्टे सञ्चालन गरेर देशमै उदाहरणीय काम गर्न सफल ताङतिङका स्थानीय बासिन्दालाई थप दक्ष बनाउने तथा रैथाने उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले स्वीस कन्ट्याक्टको सहयोगमा होमस्टे महासंघ नेपाल, मादी गाउँपालिका र युनाइटेड कम्युनिटी नेपालले चैत ८ गतेदेखि सामुदायिक कोचिङ कार्यक्रम सञ्चालन गरेका हुन्।
करिब १० महिनासम्म सञ्चालन हुने यस कार्यक्रमका लागि स्वीस कन्ट्याक्टले आर्थिक सहयोग गरेको छ भने होमस्टे महासंघ नेपालले व्यवस्थापन तथा युनाइटेड कम्युनिटी नेपालले कार्यान्वयनको जिम्मा लिएको छ। कार्यक्रमका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काखमा अवस्थित ताङतिङ प्राकृतिक सौन्दर्य र गुरुङ समुदायको मौलिक संस्कृति तथा परम्पराका कारण चर्चित पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। यहाँ १४ घरबाट सुरु गरिएको सामुदायिक होमस्टेसँगै निजी होटल व्यवसाय पनि विस्तार हुँदै गएको छ।
हिमाली दृश्यावलोकन, प्रकृतिको आनन्द र ट्रेकिङ गर्न चाहने पर्यटकका लागि ताङतिङ आकर्षक गन्तव्य बन्दै गएको छ। विगतमा रोजगारीका लागि बाहिर जानुपर्ने स्थानीयहरू अहिले गाउँमै होमस्टे र होटल व्यवसाय सञ्चालन गरेर आम्दानी गर्न थालेको मादी गाउँपालिकाकी उपाध्यक्ष कल्पना गुरुङले बताइन्।
सामुदायिक कोचिङ कार्यक्रमको शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, होमस्टे महासंघका पदाधिकारी तथा सहयोगी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। पर्यटनलाई दिगो रूपमा विकास गर्न स्थानीयलाई विभिन्न विषयमा विज्ञहरूबाट प्रशिक्षण प्रदान गरिने र कार्यक्रम १० महिनासम्म निरन्तर सञ्चालन हुने जनाइएको छ।
ताङतिङ सामुदायिक होमस्टेकी संयोजक पुनम गुरुङले यस्ता कार्यक्रमले ग्रामीण पर्यटनको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन्। ताङतिङ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको अवस्थामा सामुदायिक कोचिङले स्थानीयलाई थप सशक्त बनाउने उनले बताइन्।
आयोजकका अनुसार कोचिङ कार्यक्रम अन्तर्गत दिगो पर्यटन विकास, संगठनात्मक सुदृढीकरण, पर्यटन उद्यम विकास, फोहोर व्यवस्थापन, स्थानीय पाककला र मूल्य निर्धारण, पर्यटन उत्पादन विकास, टुर गाइड तथा स्थानीय गाइड सीप, कोसेली तथा उपहार विकास, वित्तीय साक्षरता, मेनु डिजाइन र पर्यटन प्याकेजिङ जस्ता विषयमा प्रशिक्षण दिइनेछ।
